– प्रेम सुनार
गुल्मी: यो कस्तो विडम्वना! अनि यो कस्तो विवश्ता? मृत्यु शैंयामा छट्पटाई रहेको र आफन्तको अन्तिम सहारा खोजिरहेको त्यो प्रियजनको नजिक पुगेर अन्तिम बिलौना पोख्दै अश्रुधारा उसको मुहारमा बगाउन पनि नपाइने अवस्था। हो, अस्पतालको शैयामा घिटी–घिटी हुँदै जीवनको अन्तिम सास–प्रस्वासको छट्पटाहटले तड्पिँदै छ,एउटा कोरोना संक्रमित बिरामी । यो संसारबाट सदाका लागि विदा हुँदैछु भन्ने पनि लाग्दो हो र वरीपरि आँखा डुलाएर आफन्तजनलाई अन्तिम पटक नियाल्दै नियास्रो मेटेर मरुँ जस्तो पनि हुँदो हो उसलाई।
हुनपनि आफ्नो जीवनसाथी, बाबु–आमा , छोरा–छोरी अन्य आफन्तजनलाई अन्तिमपटक मुख देखेर मर्ने धोको कसलाई नहोला र ? वक्य नफुटेर सासै–सासले त कोही इशाराले पानी… पानी… भनेर छट्पटाउँदा पनि एक थोपा पानी मुखमा राखिदिने कोही नहुँदा कोरोना संक्रमित छट्पटिदै र तट्पिदै यो संसारबाट बिदा भएका घटनाहरु देखियो,सुनियो । गुल्मीमा कोराना संक्रमणबाट पहिलोपटक गत वर्ष मृत्यु भएका एक जना शिक्षक जसले बाँचुञ्जेल अरुलाई शिक्षाको ज्योति छरे, परिवारजन र समाजलाई अभिभावकत्व दियो। उनैले अँध्यारो कोठामा पानी पनि पिउन नदिने आफन्त बिना यो संसारबाट विदा लिनु पर्यो । बुटवल धागो कारखानाको आइसोलेशनमा उनलाई त्यति बेला कुर्न बसेकाहरुले भन्दै थिए –‘चार–पाँच दिनदेखि कोठा भित्र लगेर राखे बाहिरबाट ढोका लगाई दिए। फर्केर कोही आएनन् । मृत्यु हुने दिन हामीले बाहिर झ्यालबाट नियाल्नु शिवाय अरु विकल्प थिएन ।’
तर, त्यस्तै हृदयविदारक मृत्यु घटनाका अन्तिम सहारा बनेका र उनै नजिकका आफन्त बनेर स्वतः अश्रुधारा बगाई दिने कैयौं स्वास्थ्यकर्मीहरु पनि छन् । आफन्त पराई बनेको वा बन्न बाध्य भएको कुनै बिमार र मृत्यु छ भने त्यो हो,कोरोना संक्रमणको महामारी । जन्म जस्तै मृत्यु संस्कार पनि मानिसको जन्मसिद्ध अधिकार हो । जुन अधिकारबाट बञ्चित हुँदै चरम अमानवीय,दर्दनाक मृत्यु भोगका छन् कैयौं मानिसहरु । बुढापाकहरु भन्छन्–‘मर्ने बेलामा कोखमा बसेर रोइदिने कोही आफन्त नभए सास जान गाह्रो हुन्छ , स्वर्गमा बास पाउन पनि मुस्किल पर्छ ।’ त्यो कुरा भावनात्मक वा कपोकल्पीत पनि होला । किनकी मरे पछि स्वर्ग– नर्क कसैलाई थाह छैन । तर, यो चाँही सत्य हो कि जसरी सानो तिनो चोट लाग्दा पनि सबै भन्दा पहिला आपसेआप हे आमा वा आफ्नो नजिकको मान्छे पुकारिन्छ ।
त्यसपछि झन् दुखाई बढ्यो र स्वास्थ्यमा अलि बढि मुस्कील परे बााबा लगाएत परिवारका अन्य आफन्तहरु सम्झिने , पुकारिने गरिन्छ । त्यसरी नै मर्ने बेलामा सके त शब्द उच्चारण गर्दै नभएपनि अन्तिम सासको मनैमनले भएपनि उसले आफ्ना कुनै न कुनै अभिवाक वा आफ्नो प्रियजनलाई पुकारे कै हुन्छ होला । त्यस्तै अन्तिम साससम्म पनि आफन्तजनलाई सधैका लागि गुमाउन लागिएको त्यो जिवनसाथी वा बाबु–आमा भाई–बहिनी,छोरा–छोरी र अन्य आफन्तलाई उसको मुहार अन्तिम पटक सुम्सुमाउन मन लाग्छ । मुखमा अन्तिम जल चढाई दिउँ , मेरो राजा, मेरो बाबा.. हे, मेरो हजुर …पुकार्दै अन्तिम पटक अँगालोमा बेरुँ जस्तो कसलाई लाग्दैन र ? आँखामा बिछाई रहँु , एकशब्द भए पनि उ बोलेको सुन्न पाउँ र मेरो बिलौना पनि उसले सुनोस् भन्ने कसलाई लाग्दैन र?
तर,ती सबै–सबै कुराबाट बञ्चित पारेको छ । यो निर्दयी कोरोना महामारीले । आफ्नो आफन्त नगुमाउनु थियो तर, गुमाइयो । र,पनि आ–आफ्नो समुदायको धर्म,परम्परा अनुसारको विधिवत रुपमा अन्तिम संस्कार गर्न पाएको भएपनि कमसेकम मनमा शान्ति त छाउँदो हो। त्यसबाट पनि बञ्चित वा टाढिन पर्ने यस्तो बाध्यता। यस्ता दिनपनि आउँदा रैछन् जो कहिल्लै कल्पना गरेका थिएनांै हामीले। यहि अकल्पनीय । र, अमानवीय मृत्युको शिकार भई रहेका आफन्तजनको अर्को दृश्य देखियो । आज बिहीबार गुल्मी अस्पतालमा । १० दिन अघि कोरोना संक्रमित बनेका र अन्य बिमारले समेत ग्रसित रेसुङ्गा नगरपालिका २ का ७९ वर्षीय एक जना पुरुष बिहान ३ बजेर ३५ मिनेट जाँदा मृत्यु भएको थियो ।
तर विहान ९ बजे सम्म पनि उनको शव उठ्न नसकेको सुनाउँदै थिए, त्यस अस्पतालका मेसु डाक्टर उत्तम पाच्याले । त्यसको केहि बेरपछि हामीले त्यस वडाका समाजसेवी हिमाल कुँवरलाई फोन गरेर सोध्यौं । ‘शव उठाउन माथि नेपाली सेना पनि तयार छ,पिपीईसेट लगाएर हामी पनि तयार छौं । तर, शव ब्यवस्थापन गर्ने स्थान अर्थात घाट कतै नपाएर त्यतिकै बसेका छौं ।’ उनले भने । उता माथि रेसुङ्गामा लगेर गाड्न पनि पराल्मीका बासीन्दाले विरोध गर्दै रोकेका छन् । छल्दीमा पनि त्यस्तै विरोध छ । अरु कुरा छाडौं । जिल्ला कै सबै भन्दा पुरानो र पवित्र मानिने जिल्लावासी कै ठूलो शाहघाट रिडीमा समेत संक्रमित भएर मृत्यु हुनेहरुको शव दाहसंस्कार गर्न रोक लगाउने गरिएको बताइएको छ । यो कस्तो सोचाई र संक्रिण भावना हो ? जिवित छँदै उनीहरुलाई बचाउन ज्यानको बाजी लगाएर खटेका छन् स्वास्थ्यकर्मीहरु ।
महिलाहरुले शव बोक्न हुन्न भन्थे । तर, कसैले नमानेपछि इस्मा गाउँपालिकाकी उपप्रमुख विमला खत्रीले वडा नम्वर–२ स्थित एक जना संक्रमित मृतकको शव ‘केहि हुन्न मैले बोक्छु ।’ भनेर पिपिई सेट भिरिन् । त्यसपछि बल्ल पुरुषहरुले आँट गरेर ट्याक्टरमा राखिएको थियो । अहिले नेपाली सेनाले संक्रमितको शव ब्यवस्थापन गर्न महिला सैनिकहरुलाई खटाएको छ । महिलाहरुलाई काँतर ठान्ने हाम्रो समाजको मानसिकतालाई सैनिक नेतृत्वको त्यो निर्णयले लोप्पा खुवाएको छ र आँट–शाहस भन्ने कुरामा पुरुष भन्दा महिला कम छैनन् भन्ने सन्देश पनि छरेको छ ।यहि कुरा मनमनै सोँच्दैगर्दा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीको पहलमा आफ्ना स्वकिय सचिव जंग नेपालीमार्फत आएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी हुन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा गुल्मी अस्पतालमा टुप्लुक्क आई पुगिन् । उनलाई मैले ‘हिजो राति ३ बजे मृत्यु भएको शव स्थानको अभावमा अझै उठ्न सकेको छैन।’ भन्छन् सिडियो साव आफन्जनहरु भनेर ध्यानकृष्ट गराएँ ।
‘स्थान अभाव भएर त होइन होला , हरेक पालिकाले आफ्नो स्थान निर्धारण गर्ने र त्यही शव ब्यवस्थापन गर्ने भनिएको छ। कालिगण्डीकी जस्ता अलि टाढाका शवहरु सदरमुकाम नजिकै ब्यवस्थापन गरिन्छ । अहिले अस्पताल मै रहेको शव उठाउन नेपाली सेना आउँदै छ ।’ उनले भनिन् । त्यसपछि अस्पताल प्राङ्गणमा पुग्यौं। भित्र बिरामीहरुको कोखको बेडमा शव ढाकेर राखिएको थियो। प्लाष्टिकले छोपिएको थियो । तर, पनि परिवारका सदस्यहरुले झ्यालबाट एकनास नियाल्दै अश्रुधारा बगाइरहेका थिए । एउटा मात्रै झ्यालबाट उक्त शव नियाल्न सकिन्थ्यो। जसलेगर्दा आफन्तजनले धोको फेरेर हेरिरहन र पालो पाउन सकिरहेका थिएनन्।
निर्जिव ढुङ्गा जस्तै बनेको त्यो शवको बाहिरी आवरण हेर्न त आफन्तजनको त्यति ठूलो धोको थियो भने झन् नजिक पुगेर अन्तिम पटक मुहार सुम्सुमाउँदै ,कोलहाल मच्चाएर रुँदै अन्तिम बिलौना पोख्न कति धोको हुँदो ? उफ ! नियती,तेरो बज्रपात ! भन्ने मनमा उब्जियो । बिहानको १० बज्नै आँटेको थियो । मृतकका छोराहरुलाई सोद्धा शव लैजाने ठाउँको अझै टुङ्गो लाग्न नसकेर उठाउन सकिएको छैन भन्दै थिए । त्यहाँबाट निस्केपछि पुतली बजारचोकमा पानी परिरहेकोले छाता ओढेर हिड्दै आएका रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मारासीनीलाई ‘अहिलेसम्म किन शव उठन सकेन?‘ भनेर सोधे मैले । उनले भने ‘राती ४ बजेदेखि फोन आएको आइछ। मैले सुरुमा छल्दीघाट लैजाउ म गाडी पठाउँछु भनेर भने । पछि त्यहाँ पनि भएन भनेर भने । शव ब्यवस्थापन गर्ने स्थानका लागि जता पनि विरोध छ । अहिले अन्तै लैजाने भनेर डोजर माग्दैछन म पठाउँदै छु ।’ उनले भने ।
त्यसको झण्डै दुई घण्टापछि यो पंक्ति लेख्दैगर्दा अहिले दिनको ठ्याक्कै १२ बजेको समयमा मैले त्यस नगरपालिकाकी उपमेयर सिता भण्डारीलाई सोंधे शव उठि सकेको बताइन् । ‘ब्यवस्थापन गर्ने स्थान नतोकौं तर, शव अहिले ठाउँमा पुगि सक्यो ।’ उनले भनिन् । जेहोस मृत्युको १० घण्टा पछि भए पनि शव उठेको छ । यो गुल्मी, रेसुङ्गा नगरपालिका मात्रैको कुरा होइन । देशैभरको समस्या हो । स्वास्थ्यकर्मीहरु आफ्नो मृत्युँग डराई रेहेका छैनन तर सर्वसाधरणहरु शव संग डराई रहेका छन्। एउटा शव भन्दा अलि परको दृश्य नियाल्दा मुटु भक्कानिन्छ –‘ ‘बैंश उमेरकी एउटी महिला डाको छाड्दै म मेरो हजुरको मुहार अन्तिम पटक नियाल्दै मुखमा एक थोपा जल चढाउन चाहन्छु।’ भन्दै शवतर्फ हाम्फाल्न खोज्छिन्। जसलाई सुरक्षाकर्मी र अन्य आफन्तजनले रोक्छन् । केहि बेरपछि गाडीमा राख्छन् र लैजान्छन । उनी त्यही गाडीलाई बाई–बाई … हात हल्लाउँदै मुर्छित भएर त्यही ढल्छिन् ।
यो केहि दिनअघि बुटवलको एक टेलिभिजनमा देखिएको दृश्य हो । उफ..। यस्तो पनि हुन्छ ? बाँचुञ्जेल उसकै मायाको भोको,दुर्भाग्यः जीवनको अन्तिम पटक मनको–मनमै रह्यो एक थोपा जल चढाउने धोको….यो विवश्ता हो । भिरमा लडेको गाईलाई रामराम भन्न सकिन्छ तर काँध थाप्न सकिन्न भने जस्तै हो । हामी निर्माेही , निर्दयी भएर होईन । परिवारको एक सदस्य संक्रमित हुँदा चाहेर पनि उसको नजिक पुग्न सक्दैनौ र सक्नु पनि हुँदैन। यहाँ गरिब–बेसहाराको कुरै नगरौं । प्रशस्त सम्पत्ति भएको , ठाउँ–ठाउँमा आफन्त भएको मान्छे पनि संक्रमित भएकै छ । जसरी कालले धनी गरिब र सानो ठूलो छुट्टाउँदैन भनिन्छ । त्यसरी नै कोरोना संक्रमण छुट्टाउँदैन । यसर्थ सबैतह र तप्काका मानिसहरु स्वास्थ्य मापदण्ड पूर्णतः पालना गरि सुरक्षित हुन जरुरी छ । नत्र हेर्नुस् त ! उसको प्रशस्त सम्पत्ति थियो । हेलिकप्टर मगाएर सुविधा सम्पन्न अस्पतालमा पुगेको पनि थियो । अस्पतालमा भेट्न आउने आफन्तको लर्को पनि छ । तर टाढैबाट नियाल्न विवश छ ।
बाँचुन्जेल तमाम आफन्त र आलिसान महल भएको उ… तर , उसले जीवनको अन्तिम सासमा नजिकबाट न आफन्तको साथ पायो न मृत्यु पश्चात गतिलो घाट पायो । यसर्थ , सबै सावधान हौं र सजग बनौं, सुरक्षित बसौं । बसः मानवता विरोधी निर्दयी कोरोना संक्रमणको आक्रमणबाट मृत्यु भएका सम्पूर्ण नेपालीजनको मृताआत्मा प्रति टाढैबाट भावपुर्ण श्रद्धाञ्जली , संक्रमितहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना अनि भाइरसको आक्रमणबाट बच्दै आउनु भएकाहरुलाई सु-स्वाथ्य र दिर्घायुको शुभकामाना…अस्तु!