गुल्मी: नयाँ भेरियन्ट सहितको कोरोना सक्रंमण दर बढ्दै जान थालेपछि गुल्मी हुँगाका युवाहरु एकजुट भएका छन्। सम्भावित जोखिम र त्यसको न्यूनिकरणका लागि पूर्व तैयारी स्वरुप युवाहरु एकजुट भएर गाउँमा स्वास्थ्य सामाग्री वितरण गर्न लागेका हुन्।
गुल्मीको छत्रकोट गाउँपालिका वडा नं १ हुँगा सिर्तङ्गा युवाहरुले सामाजिक सञ्जाल मार्फत अभियान सञ्चालन गरेर गाउँमा मास्क सेनिटाईजर, लगायतका स्वास्थ्य सामाग्री वितरण गर्ने गरिएको अभियन्ता चन्द्र भण्डारीले जानकारी दिए। गाउँमा न्यूनतम पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने र यसले सक्रंमण दर बढ्न सक्ने भएकाले गाउँमा सचेतना अभियान संगै जनस्वास्थ्यका मापदण्ड पालना गराउन अभियान थालिएको उनले बताए।
शनिवार स्थानीय युवाहरुले साविकको हुँगा गाविसको वडा नं ४ का विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण गरेका छन् । युवा नेता मोति भण्डारीको सहयोग र समन्वयमा स्थानीय युवराज भण्डारी, चन्द्र भण्डारी लगायतका युवाहरुले स्थानीयको घर घरमै पुगेर उक्त सामाग्री वितरण गरेका हुन्। स्वास्थ्य सामाग्री वितरण गर्दै युवाहरुले अनिवार्य रुपमा माक्स लगाउन, बाहिरबाट आएपछि सावुन पानीले हात धुन वा सेनिटाईजर प्रयोग गर्ने लगायतका सामाजिक सन्देश र सल्लाह पनि दिने गरेको भण्डारीले बताए।
उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा सिर्तुङ समाज नामक अभियान समेत सञ्चालन गरेका छन्। उक्त अभियानमा सहयोगका लागि सबै गाउँबासी देश विदेशमा रहनुभएका सहयोगी मनसगं अपिल पनि गरेका छन्। सहयोग रकम बढ्दै गएमा गाउँ भरी नै स्वास्थ्य सामाग्री वितरण संगै सचेतना प्रदान गर्ने उद्देश्य आफुहरुको रहेको भण्डारीले जनाए।