गुल्मी । अर्लाङ्कोट सेवा समाज जापानले गाउँमा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । नयाँ भेरियन्ट सहितको कोरोना सक्रंमण दर बढ्दै जान थालेपछि सम्भावित जोखिम न्यूनिकरण र पूर्व तैयारीमा रहनका लागि समाजले मुसिकोट नगरपालिका वडा नं ९ स्थित अर्लाङ्कोट स्वास्थ्य चौकी र अन्य सघं संस्थालाई करिब २ लाख बराबरको स्वास्थ्य उपकरण र सामाग्री प्रदान गरेको हो ।
रोजगारीको सिलसिलामा जापानमा रहेका अर्लाङ्कोटबासीहरुले विपदमा आप्नो गाउँप्रतिको माया र सदभाव जनाउँदै अक्सिजन अभावकै कारण ज्यान गुमाउन नपरोस भनी १ थान अक्सिजन कन्सनट्रेटर मेसिन, २ थान थर्मल गन, माक्स लगायतका स्वास्थ्य सामाग्री स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।
त्यस्तै वडा नं ९ मा रहेका मा.वि. र नि.मा.विहरुलाइ १/१ थानका दरले ४ थान पल्स अक्सिमिटर समेत हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि एवम् नगर प्रमुख सोमनाथ सापकोटाले विपदमा आफ्नो गास कटाएर जन्मभुमी प्रतिको माया र सदभाव देखाउने अर्लाङ्कोट सेवा समाज जापान प्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा मुसिकोट नगरपालिका -९ का वडा अध्यक्ष नरेशराज खरेल,नगर स्वास्थ्य शाखा प्रमुख ढाल बहादुर जि सी, समाजसेवि खड्क ब.खत्री लगायतले संस्थाले यस महामारीको समयमा गरेको सहयोग अतुलनीय र महत्पूणर् रहेको बताउनुभएको थियो । अर्लाङ्कोट सेवा समाज जापान र गुल्मेलि सेवा समाज जापानले समेत पि पि इ,सेनिटाइजर,ग्लोवस,पल्स अक्सिमिटर,थर्मल गन लगायतका सामाग्रि स्वास्थ्य चौकीमा प्रदान गर्नुभएकोमा इन्चार्ज कमला खरालले धन्यवाद व्यक्त गर्दै विरामीको सेवामा यसले अझै सहज हुने बताउनुभयो ।
कार्यक्रममा समाजसेवी कालिदास खरेलले संस्थाको स्थापना, हालसम्म गरेका गतिविधि सगैं जन्मभूमि प्रति देखाएको अगाध मायालाइ प्रकाश पार्दै धन्यवाद व्यक्त गर्नुभएको थियो । अर्लाङ्कोट सेवा समाज जापान अर्लाङ्कोटका उपाध्यक्ष विश्वनाथ सापकोटाको अध्यक्षता रहेको कार्यक्रमको संचालन सचिव यज्ञमूर्ति सापकोटाले गर्नुभएको थियो ।