बागलुङ: नेपाली कांग्रेसका नेता दोणर् कुमार कुवँरको पहलमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको छ। विभिन्न सहयोगी तथा सुभेच्छुकहरुले पठाएको र आफुले व्यक्तिगत रुपमा समेत गरी झण्डै ४ लाख बराबरको स्वास्थ्य सामाग्री स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको हो।
ढोरपाटन नगरपालिका ५ अधिकारीचौरमा जन्मनु भएका पूर्व न्यायाधिश दयानाथ खरेल र उहाँकी श्रीमती सरिता खरेलद्धारा १ थान र कोरीया र सिंगापुरमा रहेका असिम घर्ति, विर बहादुर गुरुङ, खडक कुवँर, राम बहादुर छन्त्यालद्वारा १ थान गरी दुई थान वेड साईड मोनिटर, तथा नेता कुवँरद्वारा व्यक्तिगत खर्चमा ७५ थान भिटिएम र ५० थान एन्टिजेन गरी कुल चार लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेता कुवँरले जानकारी दिए ।
ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर भण्डारी र स्वास्थ्यकर्मीको उपस्थितीमा उक्त सामाग्री काँग्रेस नेता कुवँर र नेता जित शेरचनले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्त्रण गरेका हुन् । स्वास्थ्य सामग्री हस्तान्त्रण गर्दै नेता कुवँरले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका लागि अति आवश्यक रहेको वेड साईड मोनिटर मेशिन उपलब्ध गराउने सहयोगि दाताहरुलाई धन्यवाद दिए।
साथै उनले थप आवश्यक स्वास्थ्य सामाग्रीका लागि स्वास्थ्य मन्त्रालयमा पहल भईरहेको र भोलि नै ती सामाग्री लिन काठमाण्डौ जाँदै गरेको समेत बताएका थिए।