राससका वरिष्ठ कार्यकारी सम्पादक एकराज पाठक राससको प्रधानसम्पादकमा नियुक्त भएका छन् । हालै दशौँ तहमा बढुवा भएका उनलाई रासस सञ्चालक समितिले राससको विनियमअनुसार यही साउन १ गतेबाट लागू हुनेगरी प्रधानसम्पादकमा नियुक्त गरेको हो ।
पाठकलाई आज रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष श्यामल अधिकारीका उपस्थितिमा महाप्रबन्धक सिद्धराज राईले बढुवासहित जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै बधाई दिएका छन् । साथै नवनियुक्त नायब महाप्रबन्धकहरुले पनि उनलाई बधाई दिए ।
पाठक हाल कर्मचारी प्रतिनिधिका रुपमा राससको सञ्चालक समितिका सदस्यमा हुन् । उनी हाल राससको आलेख शाखाको प्रमुखका रुपमा काम गर्दै आएका छन् । विसं २०३१ फागुनमा बागलुङमा जन्मिनुभएका पाठक विसं २०५६ मा समाचारदाताका रुपमा रासस प्रवेश गरेका थिए ।
उनीसँग विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापनको अनुभव छ । उनले सूचनाको हक र पत्रकारिता विषयमा विभिन्न पुस्तक लेखेका छन् । उनले यसअघि राससको उपप्रमुख समाचारदाता, अन्तर्राष्ट्रिय समाचार डेस्कको प्रमुख तथा प्रदेश समन्वय विभाग प्रमुखका रुपमा रहेर काम गरेका छन् ।
हाल प्रधानसम्पादक रहेका श्यामप्रसाद रिमाल ११ औँ तहका नायब महाप्रबन्धकमा बढुवा भएका छन् । यसैगरी प्रमुख समाचारदाता राजु शाक्य र अन्तरर्राष्ट्रिय शाखा प्रमुख सोमनाथ लामिछाने पनि नायब महाप्रबन्धकमा बढुवा भएका छन् । त्यस्तै रासस प्रमुख समाचारदातामा कार्यकारी सम्पादक कृष्ण अधिकारी नियुक्त भएका छन् ।