अनिष पाठक, बागलुङ । बडिगाड गाँउपालिकाको वडा नं. २ सकन्यारमा रहेको गाँउघर क्लिनिक, सामुदायिक बन र स्थानिय आमा समुहको कार्यालयमा अज्ञात समुहले तोडफोड गरेकाे छ ।
आईतबार आधारभुत स्वाथ्य सेवा केन्द्र खर्वाङबाट अनमि राधिका अर्याल सहितको टोलि सेवा संचालनकोलागि क्लिनिकमा पुग्दा क्लिनिक तोडफोड भएको अबस्थामा भेटिएको हो । हरेक महिनाको २ गते संचालन हुने क्लिनिक कोरोना भाईरसको कारण संचालन हुन सकेको थिएन ।
तर लामो समयपछि क्लिनिक संचालन गर्न जाँदा तोडफोड भएकाे अबस्थामा भेटिएको सेवा केन्द्रका प्रमुख सुदिप रञ्जित कुमार यादवले बताए । क्लिनिकका प्राथमिक उपचारमा प्रयोग गरिने औषधी, गर्भावस्था र सुत्केरी महिलाले प्रयोग गर्ने औषधी, बच्चा र बयस्कको तौल लिने उपकरण, औषधी राख्ने बाकस लगायतका साम्रगीको तोडफोड हुँदा करिब १५ हजारको क्षति भएको उनले बताए ।
“क्लिनिक तोडफोड गरी स्वास्थ्य सामाग्रीहरु ध्वस्त बनाएको अवस्थामा छ” यादवले भने, “सेवाग्राहीलाई सेवा प्रवाह गर्न गाह्रो भएको छ भने स्थानीयले चासो नदिँदा समस्या उत्पन्न भएको हो ।” वडा नं. २ को सकन्यारमा रेमलिटोला प्राविको पुरानो भवनमा रहेको उक्त क्लिनिकसंगै सामुदायिक बन र स्थानिय आमा समुहको कार्यलयमा समेत तोडफोड भएको अनमि राधिका अर्यालले जानकारी दिईन् ।
तोडफोडको बारेमा सेवा केन्द्रसंगै वडा र पालिकाको स्वाथ्य शाखामा जानकारी गराएको उनले बताईन । उक्त गाँउघर क्लिनिकबाट गर्वअवस्था र सुत्केरी महिला, जेष्ठ नागरिक, ५ वर्ष मुनिका बालबालिको स्वाथ्य परिक्षण हुदै आएको थियो ।
यता वडा अध्यक्ष ढाल प्रसाद शेरचनले घटनाको बारेमा आफुलाई जानकारी आएको र त्यसबारे छानविन हुने बताए । “मलाई तोडफोड भयो भनेर जानकारी आएको छ । जनप्रतिनिधीको नाताले हामिले छानविन गर्छाै र आवश्यक परे प्रहरीको समेत साहायता लिन्छौ शेरचनले भने ।”
सेवा केन्द्रमा पुग्न २ घण्टा भन्दा बढि समय लाग्ने स्थानमा गाँउघर क्लिनिक संचालन गर्ने नेपाल सरकारको व्यवस्था रहेको छ । सो सेवा केन्द्रमा यसअघि पनि विभिन्न समयमा तोडफोड हुने गरेको सेवा केन्द्रले जनाएको छ ।