बागलुङ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै बागलुङमा चुनावी चहलपहल बढेको छ । जिल्ला सभापतिका लागि खुलेर नाम सार्वजनिक गरिनसके पनि आकांक्षीहरू भित्रभित्रै राजनीतिक भेटघाट र कसरत गरिरहेका छन् ।
उनीहरू आफ्नो पक्षमा माहोल बनाउन केन्द्रसम्म लबिइङ गर्दै छन् । केन्द्रका शक्तिशाली नेताहरूको समर्थन प्राप्त गर्न यसबीच धेरै नेताहरू काठमाडौं पुगेर आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् । यससँगै आकांक्षीहरूले आफू निकट जिल्ला नेता तथा कार्यकर्तासँग पनि भेटघाटलाई तीव्रता दिएका छन् ।
आगामी साउन १२ गतेका लागि तोकिएको अधिवेशनमा जिल्लाका ६ गाउँपालिका र ४ नगरपालिकाका ८२ वडाबाट क्रियाशील सदस्यहरूले सहभागिता जनाउनेछन् । सभापतिमा दुई स्थानीय तहका चार आकांक्षी देखिएका छन् । पार्टीका वर्तमान जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, महासमिति सदस्य तथा पूर्वउपसभापति जगदीशचन्द्र उपाध्याय, पार्टी जिल्ला सचिव नवराज पौडेल र महाधिवेशन प्रतिनिधि जगन्नाथ आचार्य जिल्लाको नेतृत्व लिने होडमा छन् ।
यीमध्ये थापा बागलुङ नगरपालिका–११, उपाध्याय वडा नम्बर ३ र आचार्य वडा नम्बर ४ का बासिन्दा हुन् भने पौडेल जैमिनि नगरपालिका–८ छिस्तीका हुन् । जिल्लामा यसपटक क्रियाशील सदस्य ६ हजार हाराहारीमा थपिएको र तिनको नाम केन्द्रमा पठाई छानबिन भइरहेको पार्टीले जनाएको छ । यससहित जिल्लामा क्रियाशील सदस्यको संख्या करिब १३ हजार पुगेको छ । बागलुङमा क्रियाशील सदस्यताबारे पार्टीमा विवाद भएपछि केन्द्रले छानबिन सुरु गरेको हो ।
बागलुङमा शेरबहादुर देउवा (संस्थापन) र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । सभापतिका आकांक्षी थापा र आचार्य देउवा पक्षका मानिन्छन् भने उपाध्याय पौडेल पक्षका एक्ला उम्मेदवार हुन् । अर्का आकांक्षी पौडेल केन्द्रमा कृष्ण सिटौला समूहका नेता भए पनि जिल्लामा देउवा पक्षकै निकट मानिन्छन् । सभापतिका लागि ५१ प्रतिशत भोट ल्याउनुपर्ने पार्टी विधानमा उल्लेख छ ।
यी आकांक्षीबाहेक जिल्लामा दोस्रो तहका नेताहरूसमेत नेतृत्व हाँक्न इच्छुक देखिन्छन् । नेपाली कांग्रेसलाई अब आउने निर्वाचनमा पहिलो पार्टी बनाउन युवाहरूको नेतृत्व आवश्यक रहेको भन्दै उनीहरू लबिइङ गरिरहेका छन् । युवाहरूको समेत दाबीपछि कांग्रेसको जिल्ला अधिवेशनमा कुन पक्ष बलियो हुन्छ भन्नेबारे व्यापक बहस हुन थालेको छ । यसले गर्दा जिल्लामा नेतृत्व गरेका र गर्न चाहने मुख्य नेताहरूलाई आफनो समूहमा सन्तुलन मिलाउन सकस पर्ने देखिन्छ ।
युवामाझ लोकप्रिय रहेका प्रदेशसभा सदस्यका उम्मेदवार जित शेरचन, बागलुङ नगरपालिकाका मेयरका प्रत्याशी वसन्तकुमार श्रेष्ठ, नेपाल तरुण दल बागलुङका जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबु, क्षेत्रीय सभापतिहरू चिरञ्जीवी गौतम, द्रोण कुँवर र नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सहमहामन्त्री हरिहर शर्माको नाम चर्चामा छ ।
यस्ता छन् जिल्ला सभापतिका सम्भावित दाबेदारहरू
- जगदीशचन्द्र उपाध्याय
२०३८ मा विद्यार्थी संघको सदस्य भई राजनीति सुरु गरेका उपाध्यायले तरुण दलको केन्द्रीय सदस्य हुँदा देशव्यापी रूपमा आफ्नो राजनीतिक पहिचान बनाउने मौका पाए । उनी कार्यकर्तामाझ हक्की र सफल नेतृत्वकर्ताका रूपमा चिनिन्छन् ।
अघिल्ला सभापति प्रकाश शर्मा पौडेल संविधानसभा निर्वाचनमा उम्मेदवार भएपछि उपाध्यायले लामो समय कार्यवाहक सभापति भएर जिल्ला संगठन हाँक्न पाए ।
उनी जिल्लामा रामचन्द्र पौडेल पक्षका एक मात्र उम्मेदवार हुन् । अघिल्लो अधिवेशनमा उनी सभापतिको प्रतिस्पर्धामा निकटतम प्रतिद्वन्द्वी थिए ।
नेपाल विद्यार्थी संघ बागलुङको अध्यक्षको रुपमा पंचायत कालमा भूमिगत रुपमा विसं २०४३ सालदेखि २०४९ सालसम्म दुई अवधि अध्यक्ष
भएर जिल्लामा नेविसंधलाई स्थापित गर्न योगदान दिएका उपाध्यायले विसं २०५२ साल पूर्णस्थापित नेपाल तरुण दलको केन्द्रीय सदस्यको रुपमा प्रशिक्षण विभागको प्रमुखको रुपमा २०६० सालसम्म सफलता पूर्वक कार्य सम्पादन गरेका थिए ।
उनले पंचायत विरोधी र २०६२ सालको लोकतन्त्रको लागि भएको आन्दोलनमा जेल जिवन समेत विताएका थिए ।
- दीपेन्द्रबहादुर थापा
२०३५ सालदेखि नेविसंघबाट राजनीतिमा सक्रिय थापा पार्टीको जिल्ला सचिव भएपछि १२औं महाधिवेशनमा प्रकाश शर्मा पौडेलसँग जिल्ला सभापतिमा भिडेका थिए । त्यस बेला पौडेलले थापालाई पराजित गरे ।
त्यसपछि पनि थापा पार्टीभित्र झनै सक्रिय भई कार्यकर्तामाझ आफ्नो भूमिका बढाउँदै गए । फलस्वरूप १३औं महाधिवेशनमा कांग्रेस बागलुङको नेतृत्व सम्हाल्ने मौका पाएका थापा पुनः सभापति बन्ने दौडमा थापा छन् ।
- नवराज पौडेल
२०४६ को जनआन्दोलन हुँदै नेविसंघबाट राजनीति सुरु गरी पार्टीमा सक्रिय भएका पौडेलले जिल्ला सदस्य हुँदै १२औं महाधिवेशनमा जिल्ला सचिवका रूपमा उम्मेवारी दिएका थिए ।
उनले तत्कालीन सचिवका उम्मेदवार हरि खड्कासँग पराजय भोग्नुपरेको थियो । १३औं महाधिवेशनमा जगदीशचन्द्र उपाध्यायको प्यानलबाट सचिव भएका पौडेल अहिले अर्को समूहमा छन् । १३औं महाधिवेशनमा केन्द्रमा कृष्ण सिटौलालाई सघाएका पौडेल अहिले आफू संस्थापन पक्षमा रहेको बताउँछन् ।
- जगन्नाथ आचार्य
२०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षमा जनमत निर्माण गर्न सक्रिय आचार्य लामो समय शिक्षण पेसामा संलग्न रहे । अहिले शिक्षणबाट अवकाश लिएर बसेका उनी जिल्ला नेतृत्व हाँक्ने दौडमा छन् ।
शिक्षण पेसामा रहँदा उनी साबिक क्षेत्र नं। ३ मा विद्यार्थी, शिक्षकलाई समेटेर संगठन निर्माण गर्न भूमिगत रूपमा खटेका थिए ।
जिल्लाको सुदूर क्षेत्र मानिने बुर्तिबाङमा ८ वर्ष प्रधानाध्यापक बनेका आचार्यले गण्डकी प्रदेशकै पुरानो विद्यालय विद्यामन्दिर माविमा करिब ४ वर्ष रहँदा विद्यालयको नयाँ भवन निर्माण गर्ने जिम्मेवारी कुशलतापूर्वक बहन गरेका थिए ।
सुवास आचार्य नयाँ विश्व