बलेवामा कहिले होला हवाइजहाज सरर ?

बलेवामा कहिले होला हवाइजहाज सरर ?

Badigad Online
4 Min Read

बागलुङ, १२ साउन– ‘बलेवामा हवाइजहाज सरर’ कलाकार पूर्ण परियारले गाएको गीतांश हो, यो । २६ वर्ष बन्द रहेको विमानस्थलमा तारा एयरलायन्सले परीक्षण उडान गरेपछि बलेवाका कलाकार पूर्ण परियारले २०७४ सालमा गीत नै बनाए ।

बिमानस्थलको धावनमार्गमा छायांकन गरिएको यो गीतले बलेवा क्षेत्रको विषय समावेश गर्दै विमानस्थलको उपयोगिताको चर्चा गरिएको छ । गीतमा भनिएको जस्तै विमानस्थल २०७४ साल चैत ९ गतेदेखि पुनः एक वर्ष सञ्चालनमा आयो । यसअघि २०४८ सालमा बागलुङ बजारसम्म सडक सञ्जाल जोडिएपछि विमानस्थल बन्द भएको थियो ।

२०७४÷७५ मा बलेवामा हप्तामा २ दिन हवाइजहाज सरर चले पनि । बागलुङ नगरपालिकाले एयरलायन्स कम्पनीहरुको क्षति व्यहोर्ने गरी गरेको सम्झौता एक वर्षमा सकियो ।

बेरुजुको भारी बोकेर नगरले सम्झौता बढाउन सकेन र विमानस्थल फेरि बन्द भयो । बन्द भएको विमानस्थलले अहिले भने स्वरुप फेर्ने काम गरिरहेको छ । ‘हामीले २० लाख खर्चेर एक वर्ष जहाज चलायौं, त्यसैको उपलब्धी अहिले धावनमार्ग कालोपत्रेको काम चलिरहेको छ,’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल भन्छन्, ‘पक्की विमानस्थलमा सबै खाले जहाज चल्छन्, सम्भावना टरेको होइन बढेर गएको छ ।’

कच्ची धवनमार्ग भएका कारण यसअघि नेपाल एयरलायन्स र तारा एयरलायन्सले मात्रै यहाँ उडान गरेका थिए । अन्य कम्पनीका जहाज कच्ची धावनमार्गमा चल्न मानेनन् । हरेक उडानमा नपुग यात्रुको भाडा नगरपालिकाले तिर्ने गरेको थियो । कयौं पटक खाली जहाज चल्दा समेत नगरले भाडा तिरेर नियमित ग¥यो । फलस्वरुप धावनमार्ग कालोपत्रेका लागि नागरिक उड्यन प्राधिकरण बाध्य भएको पौडेल बताउँछन् ।

२०७६ सालमा एक वर्षमा सक्नेगरी धानवमार्ग कालोपत्रेको काम सुरु भयो । तर, बलेवा विमानस्थल यो वर्षको असार मसान्तसम्म पनि कालोपत्रे हुन सकेन् । कहिले काम गरिरहेका मजदुरहरु एकाएक लकडाउनको कारण देखाउँदै घर हिँड्ने त कहिले कालोपत्रे बोकेर ल्याउने बाटो अवरुद्ध भएका कारण समयमा काम हुन नसकेको निर्माण कम्पनीले जनाएको छ ।

विमानस्थलको धावनमार्ग ग्रेडिङको काम सकिएको छ । बेस, सबबेस हाल्ने काम पनि सकियो । निर्माण कम्पनी काष्ठमण्डप एन्ड उमा जेभीका अनुसार कालोपत्रको काममात्रै अब बाँकी छ । ‘यो पटक हामी काम सक्थ्यौं, असारको पहिलो साताकै पानीले बाटो बिगा¥यो । सामग्री बाहिरबाट ल्याउन ट्रिपर चलेनन्,’ कम्पनीका प्रतिनिधि बासु थापाले भने, ‘अन्य कलोपत्रे भन्दा फरक प्रविधिको कालोपत्रे हो, बाहिरबाट पकाएर ल्याउनुपर्ने बाटो बन्द भयो ।’

विमानस्थल कालोपत्रेका लागि अस्पाल कालोपत्रे प्रयोग गर्नुपर्ने स्टमेट छ । बागलुङमा उक्त प्रविधिमा कालोपत्रे तयार गर्ने मेसिन छैनन् । पोखराबाट ल्याउनुपर्ने भएकाले समस्या रहेको थापाले बताउनुभयो । पछिल्लो पटक थप भएको म्याद असार मसान्तमा सकिएको छ । ६ महिना थपिएको म्याद समेत सकिएपछि प्राधिकरणले पुन तीन महिना म्याद थपको तयारी थालिएको छ ।

‘असोजसम्ममा कालोपत्रे काम सक्नेगरी म्याद थपको तयारी छ’ बलेवा विमानस्थल आयोजना प्रमुख मिनराज ओझाले भने, ‘अवरोधहरु धेरै भएकाले निर्माण कम्पनीले समयमा काम सक्न पाएन्, अब धेरै काम छैन् ।’ अहिलेसम्म बलेवा विमानस्थलमा सानो टुइनेटर जहाज मात्रै चल्न सक्ने अवस्था थियो । धवनमार्ग कालोपत्रे भएपछि आईकाओको मापदण्ड अनुसारका जहाज चल्ने संरचना तयारहुने ओझाले बताए ।

‘हामीले गर्ने इन्फाटेक्चरको काम हो, जहाज चलाउने कम्पनीले हो,’ ओझाले भने, ‘एनएस २४ आईकाओको मान्यता अनुसारको दुर्गमको विमानस्थलको मापदण्डमा बलेवा विमानस्थल तयार हुन्छ ।’ नागरिक उड्यन प्राधिकरणले ८ करोड रुपैयाँ विनियोजन गरी निर्माण कार्य अगाडि बढाएको हो । विमानस्थलको ७ सय मिटर लम्बाई ३० मिटर चौडाई धावनमार्ग कालोपत्रे हुने निर्माण कम्पनीले जनाएको छ । ढोरपाटन न्यूजका लागि तारानाथ आचार्यले यो समाचार लेख्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित