सागर भण्डारी
हामी सबैले भन्ने गरेको एउटा कुरा विद्यालयहरु मन्दिर हुन् । जहाँ कलिला बालबालिकाहरु आफ्नो सुन्दर भविष्य बनाउने सपना देखेर पुगेका हुन्छन् । आफ्ना उत्तराधिकारीहरुलाई सफल,सक्षम र चेतनशील बनाउन अभिभावकहरुले विद्यालय पठाउँछन् । विभिन्न विकासका चरणहरुका महत्वपूणर् चरणहरु विद्यार्थीले विद्यालयमै बिताउँछन् । यसर्थ भन्न सकिन्छ विद्यालय कुनै व्यक्तिको भविष्य डोर्याउने एउटा खुड्किलो हो ।यसरी भन्दा विद्यालय चेतनाको विकास गर्ने एउटा प्रमुख माध्यम हो । हामीले आफ्ना बालबालिकाको भविष्य कोर्न पठाउने विद्यालयहरु र त्यहाँ
अध्यापनरत गुरुहरुनै असक्षम भईदिए भने एक व्यक्तिको भविष्य कस्तो होला । एकपल्ट कल्पना गर्नुहोस् त । हामीले आफुले कहिल्यै यस विषयमा गम्भीर भएर सोँच्यौँ । के हामी अभिभावकको दायित्व विद्यार्थीलाई विद्यालयसम्म पठाउनु मात्रै हो त ?
हामीले आफ्ना उत्तराधिकारीहरुलाई विद्यालय पठाईरहँदा यस विषयमा कहिले पनि जान्ने र बुझ्ने प्रयत्न गरेनौँ । यस विषयमा जान्ने र बुझ्नेहरुले जहिले आफ्ना बालबालिकाहरुलाई संस्थागत विद्यालयमा पठाए । हामीले आफ्ना बालबालिकाहरुलाई संस्थागत विद्यालयमा पठाईरहँदा सामुदायिक विद्यालयलाई सुधार गर्ने प्रयत्नमा कहिले लागेनौँ । एउटा सामुदायिक विद्यालयका प्र.अ अथवा प्रतिनिधिहरुले आफ्ना बालबालिकाहरुलाई संस्थागत विद्यालयमा पठाइरहँदा गरिव र विपन्न परिवारका बालबालिकाहरुले पनि राम्रो विद्यालयमा पढ्न पाउने नैसर्गिक अधिकार हो भन्ने किन भुल्यौँ ?
संस्थागत विद्यालयमा आफ्ना बालबालिकालाई पठाएर सामुदायिक विद्यालयको गुणस्तरको भाषण खोक्ने प्रवृत्ति र पात्रहरुलाई हामीले कहिले प्रश्न गर्यौँ की तिम्रा केटाकेटी पनि सामुदायिक विद्यालयमै पढाउ भनेर ? अधिकाशं सामुदायिक र संस्थागत विद्यालयबीचको विभेद यहीबाट सुरु भएको छ । तपाईँ,म,हामी र हाम्रा प्रवृत्ति र पात्रहरुबाट । के यी हाम्रा सरोकारका विषयहरु होईनन् र ? तपाईले आफ्ना सन्तानको भविष्यकै चिन्ताले विद्यालय पठाउनुभएको होईन र ? के तपाईलाई आफ्ना सन्तानले राम्रो शिक्षा पाउन भन्ने चाहना छैनर ? यदी छ भने खैत प्रश्न गरेको ?
एउटै समाजका दुई विद्यालय,एउटै परिवारका दुई फरक विद्यालयमा पढ्ने विद्यार्थी र एउटै परिवारका दुई सन्तानप्रतिको माया फरक हुँदैन भने मात्र सामुदायिक र संस्थागत विद्यालय प्रतिको विभेद र दृष्टिकोण घट्ने छ । संस्थागत विद्यालयमा पढ्ने तपाईका सन्तानहरु र सामुदायिक विद्यालयमा पढ्ने तपाईका सन्तानहरुले उस्तै कक्षाकोठा,उस्तै शिक्षक र उस्तै शिक्षा पाओस् भन्ने तपाईको चाहना छ भने सामुदायिक विद्यालय प्रति तपाईको चासो बढेको खै त ?
अधिकाशं सामुदायिक विद्यालयको भौतिक,संरचनागत र गुणस्तर प्रगति वर्षौँ देखि एउटै छ । के यस प्रति हामी चनाखो हुनु पर्दैन त ? विद्यालयमा राजनीतिको पाठ सिकाउने गुरु,२० मिनेट सम्म कक्षाकोठामा नबस्ने शिक्षक,चुहिन लागेको कक्षाकोठामा दिएको शिक्षा,वर्षौ देखि गरिब र विपन्नले पढ्ने पगरीको ट्याग भिराईएका सामुदायिक विद्यालयहरु प्रति हामी अभिभावकले जबसम्म प्रश्न उठाउन सक्दैनौँ तब सम्म शैक्षिक गुणस्तर वृद्धि हुँदैन् ।
विद्यालयमा शिक्षक उपस्थित छन् छैनन् ? नियमित आएका छन् छैनन् ? मेरा बालबालिकाले के सिकिरहेका छन् ? उनीहरुले पढ्ने विद्यालय कस्तो छ ? यी र यस्ता विषय हाम्रा सरोकारका विषय होईनन् र ? एकपल्ट यी विषयमा सरोकार राखेर हेरौँ त हाम्रा सामुदायिक विद्यालयको गुणस्तर कहाँ पुग्नेछ ।
सामुदायिक विद्यालयमा अधिकाशं शिक्षक कर्मचारी राजनैतिक बुर्चवाहरुबाट परिचालित छन् । उनीहरु विद्यालय केबल राजनीति गर्न मात्रै आउँछन् । विद्यालय व्यवस्थापन समितिको गठन गर्न कै लागि राजनितिक झण्डा बोकेर विद्यालयको पवित्र मन्दिरमा प्रवेश गर्नेहरुले के विद्यालयको गुणस्तर सुधार गर्न सक्लान ? यी प्रश्नहरु हामीले बर्षौँ देखि खोज्ने चेष्टा नै गरेनौँ त्यसकारण सबै प्रश्न अनुत्तरित छन् । अब पनि यी प्रश्नहरुको जवाफ खोज्ने की नखोज्ने त ?
शिक्षकले राजनीतिक नियुक्ति पाउँदा र आफ्नो जागिर रहँदासम्म सबै ठिक । कक्षा कोठामा २० मिनेट पढाएर निस्कन पाउँदा ठीक,त्यसमा प्रधानाध्यापकले प्रश्न उठाउँदा बेठिक,विद्यालय भवन सिलन्यास या उद्घाटन गर्न आफ्नो राजनैतिक दलको मान्छे आए ठीक नत्र बेठिक,की यस्ता विषयवस्तुहरु विद्यालय भित्र गर्न सुहाउँछ । हामीलाई वर्षौँ देखि शैक्षिक गुणस्तरको ढोगं रचेर हाम्रा बालबालिकाहरुमाथी राजनीति गरिरहेका शासकहरुको मुखमा थुक्न किन नसक्ने ? उनीहरुलाई चप्पल बर्साउन किन नसक्ने ?
अझै हामी भेँडा अभिभावक तीनकै पछि तिनकै गुनगान गाएर हिँडिरहेका छौँ । हामी हाम्रै नेतृत्वलाई वर्षौँ देखि सामुदायिक विद्यालयको अवस्था एउटै हुँदा पनि किन प्रश्न गर्न सक्दैनौँ । किनकी हामी भेँडा अभिभावक हौँ । एउटाले गलत भने सबै गलत एउटाले ठीक भने सबै ठीक । के हाम्रो दायित्व यही हो । हामीले आफ्नो समुदायको गुणस्तर विकासका लागि नेतृत्व,शिक्षक,विद्यालय र प्रवृत्ति माथि प्रश्न गर्न सकेको खै ?
तर केही विद्यालय सुधारका लागि लागिरहेका शिक्षक र अन्य सरोकारवालाहरुलाई समेत हामीले साथ दिन सकिरहेका छैनौँ । किनकी समाजमा गलत प्रवृत्ति र तीनको हालीमुहाली चल्छ । हामीले सही या गलत छुट्याउन सक्दैनौँ । किनकी ती गलत प्रवृत्तिहरुले हाम्रो मुख थुनेका छन्, हाम्रो विचार र ज्ञान मोडिदिएका छन् ।
यस विचमा मैले आफुले पढ्दै गरेको एक विद्यालयको उदाहरण पेस गर्न चाहान्छु । मैले हिँजो टिनको छानोमुनी,कक्षा कोठा बेञ्च डेस्कको अभावका बीच पढिरहेको विद्यालय अहिले सुविधासम्पन्न भवनको रुपमा परिणत भएको छ । मैले अभावका बीच शिक्षा आर्जन गरिरहेको विद्यालयमा आज मेरा भाई बहिनीहरु सुविधासम्पन्न भवनमा बसेर पढ्न पाएका छन् । यो त सकारात्मक पक्ष हो नी ।
तर त्यही विद्यालयको शैक्षिक र भौतिक गुणस्तर सुधारका लागि लागिपरेकाहरुलाई अहिले त्यही समाज र तिनै अभिभावकले साथ छाडेका छन् । कसले सही गरेको छ कसले गलत भन्ने चेतनाको विकास हामी आफैले गर्नु सक्नुपर्दछ,भन्ने मलाई लाग्छ । भौतिक क्षेत्रमा असंख्य प्रगती गर्दै गरेको हाम्रो विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न के हामीले विद्यालयसगं हातेमालो गर्न सक्दैनौँ र ।
राम्रो कक्षाकोठा पाउँदै गरेका विद्यार्थीहरुले अब राम्रो शिक्षा पनि पाउन् भन्ने तर्फ हामीले ध्यान तानौँ । अनावश्यक तर्क टिप्पणी र विचारले समाजलाई कुरुप बनाउँछ । त्यसले तपाईका छोराछोरी,भाईबहिनी र दिदी दाजुको भविष्य अन्धकार बनाउने छ ।
अब बुझौँ,अहिले बुझौँ विद्यालयको गुणस्तर सुधारका लागि लागिरहेकाहरुलाई आत्मसम्मानमै ठेस लाग्ने गरी,उनीहरुको मनोबल घटाउने प्रयत्न नगरौँ । एकपल्ट आफैलाई प्रश्न गरौँ मैले ठिक गरे या बेठिक,उसले ठिक गर्यो या बेठिक । नत्र हाम्रा बालबालिकाहरुको भविष्य अन्धकार शिक्षणमा रुमल्लिई रहनेछ ।