बडिगाडमा रहेको थानपति मन्दिरमा पर्यटन प्रवद्र्धन गर्न जिर्णोद्धार गरिदै !

बडिगाडमा रहेको थानपति मन्दिरमा पर्यटन प्रवद्र्धन गर्न जिर्णोद्धार गरिदै !

Badigad Online
2 Min Read

बडिगाड गाउँपालिका–५ मा रहेको थानपति मन्दिर । तस्विरः किरण आचार्य

बागलुङ:  पौराणिक मान्यता र धर्मसँग जोडिएका पर्यटकीय स्थलहरु बागलुङमा धेरै छन् । सदरमुकामदेखि दुरदराजसम्म रहेका पर्यटकीय स्थलहरुकै कारण यहाँ महिना अनुसार पुग्ने आन्तरिक पर्यटकको ठुलो लर्को लाग्छ ।

त्यस्तै पौराणिक मान्यता र धर्मसँग जोडिएको मन्दिर हो जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको थानपति मन्दिर । योगीले तपस्या गरेर बिलय भएको स्थानलाई पवित्र मानेर यहाँका सर्वसाधारणले पौराणिक कालदेखि पुजाआजा गर्छन् । सोही मन्दिरको थप व्यवस्थापन गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिका लागिपरेको छ ।

ऋषिले तपस्यापछि बिलय भएको मान्यता रहेको मन्दिर र आसपासको क्षेत्र पर्यटकका लागि आकर्षक भएपनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । साउन महिनामा विशेष पुजाआजा हुने यस मन्दिरमा बागलुङको पश्चिम र गुल्मीको उत्तरी क्षेत्रका सर्वसाधारणको आस्था रहेको छ । यहाँ भक्तजनका हिसाबले पुग्ने धेरै छन् । तर, पौराणिक मान्यता र प्राकृतिक मनोरम दृष्य हेर्न पुग्नेहरुमा भने प्रचार नपुगेका कारण मन्दिर ओझेलमा छ ।

मन्दिरको जिर्णोद्धार र पर्यटकीय पूर्वाधार निर्माणको काम थालिएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताए । मन्दिरको जिर्णोद्धार र थप संरचनाको विकास गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाले डिपिआर तयार गरेको छ । डिपिआर अनुसार गत वर्ष ५ लाख रुपैयाँ खर्चेर संरचना निर्माणको काम गरिएको अध्यक्ष पाईजाले बताए ।

योगीले देह त्याग गरेकाले यस मन्दिरमा मागेको पाईने जनविश्वास छ । वर्षभरी भाकल गरेर राखेका ध्वजा र प्रसाद साउनमा हुने पुजामा चडाउँदा मनोकांक्षा पुरा हुने विश्वास रहेको मन्दिरका पुजारी लिलाधर घिमिरेले बताए । यहाँ पुजाका लागि पुग्ने सर्वसाधारणका कारण बर्षमा एक पटक ठुलो मेला लाग्छ । अन्य समयमा समेत धार्मिक मान्यताका आधारमा यहाँ पुजाआजाका लागि पुग्नेहरु धेरै रहेको स्थानीय बताउँछन् ।

गाउँपालिकाले बनाएको डिपिआर अनुसार काम भएमा थानापति मन्दिर बडिगाडको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुने गाउँपालिकाको विश्वास छ । संघीय, प्रदेश र स्थानीय विभिन्न संघ संस्थाको सहयोगमा यो मन्दिरको जिर्णोद्धार सहितका संरचना बन्ने गाउँपालिकाले जनाएको छ । पर्यटनसँग जोडिने भएकाले आर्थिक उपार्जनको क्षेत्र समेत यो मन्दिर तथा परिसर बन्ने गाउँपालिकाको अपेक्षा छ । – ढोरपाटन न्यूजबाट

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित