राम प्रसाद घिमिरे, बागलुङ : केपी शर्मा ओलि नेतृत्वको नेकपा एमालेमा बिद्रोह गरि नयाँ दलको रुपमा उदयमान नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागलुङ जिल्लाको संयोजकमा लालबहादुर थापा चयन भएका छन् ।
नेकपा एमालेको नवौंबाट अध्यक्षमा निर्वाचित केपि शर्मा ओलीको स्वईच्छाचारी कदम सँग पार्टी भित्र निरन्तर अन्तर संघर्ष गरिरहेका पूर्वप्रधानमन्त्री एवं एमालेका बरिस्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गत बुधबार निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को बागलुङमा जिल्ला भेला आयोजक समितिको गठन भएको हो ।
शनिबार भएको भेलाले केन्द्रीय नेतृत्वसँग संमन्वय गरि थापाको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला भेला आयोजक कमिटी घोषणा गरेको हो । संयोजक थापा यसअघि नेकपा एमाले बागलुङका जिल्ला सचिव थिए ।
भेलाले भुपाल चालिसेको संयोजकत्वमा भरत पुरी,जीवन आचार्य र हिमाल शर्मा सदस्य रहेको ४ सदस्यीय कार्यालय व्यवस्थापन उपसमिति गठन गरेको छ ।
त्यस्तै शालिकराम शर्माको संयोजकत्वमा सामाजिक संघसंस्था संमन्वय उपसमिति, जीवन आचार्यको संयोजकत्वमा चक्र थापा र डम्बर श्रीस सदस्य रहेको ३ सदस्यीय जनप्रतिनिधि समन्वय उपसमित ,सुरज बोसेलको संयोजकत्वमा प्रदिप आचायर्, फडिन्द्र खड्का सहितको ३१ सदस्यीय युवा तथा खेलकुद जिल्ला भेला आयोजक कमिटी गठन गरेको छ ।
जिल्ला अधिवेशनमार्फत नयाँ कमिटी निर्माण गरिने र हाललाई पार्टीलाई व्यवस्थित पार्न रणनीतिक योजना बनाएर काम गर्ने संयोजक थापाले बताउनुभयो । समितिले तत्कालै जिल्ला भेला गर्ने गरी क्षेत्र तथा पालिका समितिको संयोजकहरु तोक्ने थापाको भनाइरहेको छ ।
शनिबारको भेलामा नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका धौलागिरि इन्चार्ज,पूर्वकेन्द्रीय सदस्य तथा पूर्वउर्जा राज्यमन्त्री रामजी प्रसाद शर्मा, नेकपा एमालेका पूर्वजिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा,क्षेत्रिय अध्यक्ष गोविन्द गौतम, नगर इन्चार्ज भरत पुरी लगाएत अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।