गुल्मीमा एमाले एकढिक्का – झाँक्री बाहेक सबै नेता एमालेमै !

गुल्मीमा एमाले एकढिक्का – झाँक्री बाहेक सबै नेता एमालेमै !

Badigad Online
2 Min Read

काठमाडौँ । गुट–संघर्षमा माधव नेपाल पक्षको पकड रहेको गुल्मीमा नवगठित एकीकृत समाजवादी पार्टीमा जानेको संख्या नगण्य देखिएको छ । सचिव गोकर्ण बिष्टले नयाँ पार्टी गठनमा माधव नेपाललाई साथ नदिएपछि सांसद र स्थानीय तहका पदाधिकारी कोही पनि समाजवादी पार्टीमा लागेनन् ।

गुल्मीका १२ स्थानीय तहमध्ये आठमा एमालेले जितेको थियो । तीमध्ये सातवटा नेपाल पक्षका र एकजना अध्यक्ष केपी ओली पक्षका निर्वाचित हुनुभएको थियो। एमाले जिल्ला अध्यक्षसमेत रहेका छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्त मात्र ओली पक्षका एक्ला पालिका प्रमुख हुनुहुन्थ्यो । बाँकी सात तहमा नेपाल पक्षको नेतृत्व थियो ।

पार्टी विभाजनमा उहाँहरु कोही पनि समाजवादीतर्फ लाग्नुभएन । ‘पार्टी छाडेर बलियो हुन सकिन्न, विमति भए पनि पार्टीभित्रै अन्तरसंघर्ष गर्नु तर नयाँ पार्टीमा नजानु’ भन्ने स्थानीय मतदाताको दबाबपछि नै बिष्टले नेता नेपालको साथ छाडेको बताइन्छ । बिष्ट एमालेमै रहेपछि समाजवादीको प्रभाव शून्य भएको स्थानीय एमालेको दाबी छ । छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले पार्टीका विवादमा जिल्लाका नेता कार्यकर्ताहरु एकठाउँ उभिएकाले विभाजनको प्रभाव नपरेको बताउनुभयो ।

सचिवद्वय प्रदीप ज्ञवाली र बिष्ट पार्टी एकता जोगाउन लागेकाले गुल्मीमा विभाजनको प्रभाव नदेखिएको उहाँको दाबी छ । ‘रामकुमारी झाँक्रीबाहेक एमालेबाट नयाँ पार्टीमा जाने खासै कोही छैन,’ उहाँले भन्नुभयो, ‘बरु माओवादीबाट केही नेता एमालेमा आएकाले पार्टी बलियो भएको छ ।’ नेपाल पक्षले केही महिनाअघि देशैभरी समानान्तर कमिटीसमेत गठन गरेको थियो । गुल्मीमा नेपाल पक्षबाट मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा जिल्ला अध्यक्ष हुनुभएको थियो ।

तर सापकोटाले पनि अहिले नेपालको साथ छाड्नुभएको छ । पार्टीभित्र अन्तरसंघर्ष रहे पनि आफू पार्टी विभाजनको पक्षमा नरहेको उहाँले बताउनुभएको छ । पार्टी विभाजनको अन्तिम क्षणमा सचिव बिष्ट एमालेमै रहे पनि गुल्मी क्षेत्र नं २ कै नेतृ रामकुमारी झाँक्री भने नेकपा एकीकृत समाजवादीमा लाग्नुभएको छ ।

निर्वाचिन आयोगमा पार्टी दर्ता देखि सनाखतसम्म अग्रपंक्तिमा देखिएकी झाँक्री समानुपातिक सांसद हुनुहुन्छ । माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित सांसद दिनेश पन्थी एमालेमा प्रवेश गरेकाले सो क्षेत्रमा एमालेको प्रभाव थप बलियो भएको छ । चर्चित युवा नेता भए पनि गृहजिल्लामा झाँक्रीको खासै प्रभाव देखिएको छैन ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित