बागलुङ : दोर्ण कुवँरले नेपाली कांग्रेस बागलुङको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति कुवँरले मंगलवार नयाँ विश्वसँग कुराकानी गर्दै १४ औं महाधिवेशनमा जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘नयाँ विश्वमार्फत औपचारिक घोषणा गर्दछु,’ नेता कुवँरले भने, ‘म सभापतिको उम्मेदवार बन्छु ।’
कांग्रेसप्रति नागरिकमा रहेको मायालाई आत्मसाथ गर्दै बागलुङ कांग्रेसको जगलाई थप बलियो बनाउने उद्देश्य र नेता कार्यकर्ताको चाहनाका कारण आफ्नो उम्मेदवारी सभापतिमा भएकाे उनले बताए । युवाको प्रतिनिधित्व, विगतको अनुभवका आधारमा बागलुङको कांग्रेसलाई आफूले राम्रो तवरले लैजान सक्ने कुवँरले दाबी गरेका छन् ।
तल्लोतहका कार्यकर्ता पङ्तिको हित र उपल्लो नेतृत्वको सम्मान गर्दै आसन्न महाधिवेशनबाट नेतृत्व तहमा जाने उनले बताए । पार्टीमा लगनशिल र सबैलाई मिलाएर जान सक्ने जुझारु युवा नेताको खाँचो रहेकोले आफू त्यसको लागि तयार भएको कुवँरले बताए ।
बागलुङमा कांग्रेसलाई एक ढिक्का बनाइ सबै कार्यकर्ताको मनोभावनालाई बुझेर काम गर्ने बताउँदै कुवँरले सभापतिको चुनावमा सबैलाई सहयोग गर्न अनुरोधसमेत गरेका छन् ।
मुख्य एजेन्डाको रूपमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको पार्टी कार्यालय बनाउने, दुई वटा क्षेत्रिय समितिको भवन बनाउने र कार्यकालमा भ्यायसम्म वडा कार्यालय बनाउने योजना रहेको कुवँरले सुनाए । भर्खरै सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसको तल्लोतहको अधिवेशन भाद्र १८ मै गर्ने भनिए पनि आजसम्म निर्णय हुन सकेको छैन ।
यसअघि वर्तमान सभापति दीपेन्द्रबहादुर थापा, महासमिति सदस्य जगदीशचन्द्र उपाध्याय, पार्टी सचिव नवराज पौडेल र महाधिवेशन प्रतिनिधिहरु जगन्नाथ आचार्य, कृष्णशंकर श्रेष्ठ पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् । बागलुङमा शेरबहादुर देउवा (संस्थापन) र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
सभापतिका आकांक्षी थापा, आचार्य र श्रेष्ठ देउवा पक्षका मानिन्छन् भने उपाध्याय पौडेल पक्षका एक्ला उम्मेदवार हुन् । कुवँरले पनि शेरबहादुर देउवा (संस्थापन) पक्षका हुन् । अर्का आकांक्षी पौडेल केन्द्रमा कृष्ण सिटौला समूहका नेता भए पनि जिल्लामा देउवा पक्षकै निकट मानिन्छन् । केन्द्रीय तहमा सस्थापन पक्षको एउटा र संस्थापन इतर पक्षको अर्को समिकरण बनाउने प्रयास भइरहको बेला बागलुङमा भने ३ पक्षका ६ जना सभापतिको आकांक्षी देखिएका छन् ।
सभापतिका लागि ५१ प्रतिशत भोट ल्याउनुपर्ने पार्टी विधानमा उल्लेख छ । सभापतिका आकांक्षीहरू भित्रभित्रै राजनीतिक भेटघाट र कसरत गरिरहेका छन् । – NayaBishwo