नमुना सहर बुर्तिबाङ : न गतिलो बसपार्क छ, न फोहोर व्यवस्थापन

नमुना सहर बुर्तिबाङ : न गतिलो बसपार्क छ, न फोहोर व्यवस्थापन

Badigad Online
3 Min Read

बागलुङ – बागलुङ सदरमुकाम पछिको दोस्रो ठूलो सहर हो बुर्तिबाङ बजार  । सरकारका १० नमुना सहरी आयोजनामा पनि सूचीकृत छ । तर बुर्तिवाङमा अझै न बसपार्क छ, न फोहोरको व्यवस्थापन हुन सकेको छ । ढोरपाटन नगरपालिकाको केनद्र बुर्तिवाङ बजार बाट उत्पादित फोहोर खोलामा फाल्ने गरिएको छ । लामो तथा छोटो दूरीमा गुड्ने बस सडकमै रोकिराख्दा आवत जावतमा समस्या हुने गरेको छ ।

मध्यपहाडी लोकमार्ग आयोजनाले देशभर १० नमुना सहर बनाउने योजना अनुसार बुर्तिवाङ छानिएको एक दशक बित्यो । तर अहिलेसम्म मुख्य काम अलपत्र छन । सरकारी लक्ष्य अनुसार दुई वर्षभित्र बुर्तिवाङ नमुना र स्मार्ट सहर बनिसक्नुपर्छ । तर, त्यसको तयारी सकिएको छैन ।

बुर्तिवाङ साना सहरी आयोजनाले भने काम अघि बढिरहेको दाबी गरेको छ । ‘हाम्रा दर्जनौं सूचक छन्, काम भइरहेको छ,’ आयोजना प्रमुख अभिषेक अधिकारीले भन्नुभयो, ‘ठूलो काम भएकाले बसपार्क बनाउने र फोहोरको व्यवस्थापन भने ढिला भएको हो ।’ बसपार्कको डीपीआर बनिसकेकाले आगामी वर्षदेखि काम सुरु हुने उहाँले जानकारी दिनुभयो । फोहोर व्यवस्थापनका लागि भने अझै जग्गा व्यवस्थापन भएको छैन ।

फोहोर व्यवस्थापन गर्न नगरपालिकाले जग्गा उपलब्ध गराउनुपर्छ । नगरपालिका र आयोजना बीच समन्वय हुन सकेको छैन । नगरपालिकाले आफ्नो मातहतमा आयोजना चलाउन खोजेको छ । संघीय सरकारबाट सञ्चालित भएकाले आयोजनाले भने स्वतन्त्र रूपमा काम गर्न खोज्छ । ‘नगरपालिकाले भने अनुसार बजार क्षेत्रमा ढलान गर्ने, कालोपत्र र ढल निकासको काम गरेका छौं,’ अधिकारीले भन्नुभयो, ‘साँघुरो सहरलाई व्यवस्थित बनाउन धेरै कठिन हुने रहेछ ।’ नगर क्षेत्रको विकास हुने गरी तमानखोला जाने सडक, अर्नाकोट, भवरेटा, कुतथाप्ला र खप्तरीबाङ लगायत सडक निर्माणाधीन रहेको उहाँले बताउनुभयो ।

दर्जनभन्दा बढी सडक स्तरीय, कालोपत्रे र ढलान गरिरहेको उहाँको भनाइ छ । हाल रहेको बसपार्क उत्तरगंगा माविको जग्गा भएकाले १० रोपनी जमिन पु¥याउन कसरत भइरहेको छ । ‘कम्तीमा ५ करोड लगानीमा बसपार्क बन्छ । केही ढिला भए पनि काम अगाडि बढेको छ,’ उहाँले भन्नुभयो, ‘फोहोर व्यवस्थापनका लागि स्थानीय र नगरपालिकामा पहल भइरहेको हो ।’ उपयुक्त जमिनको खोजी भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले जानकारी दिनुभयो । ‘फोहोरको दिगो व्यवस्थापन गर्न सकिने स्थान र प्रविधि बनाउने विषयमा पहल भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘नगरभित्र भौगोलिक कठिनाइ भएकाले कतिपय काम समन्वयमा गर्नुपर्छ ।’

नमुना सहरी आयोजनाका लागि तोकिएको मापदण्ड अनुसार बाल उद्यान समेत बनाउनुपर्नेछ । तर जग्गा अभावमा यो योजना अगाडि बढेको छैन । सबै क्रियाकलापका लागि एक हजार रोपनी जमिन चाहिने आयोजनाको कार्यक्रममा उल्लेख छ । खुला चौर र भूकम्प आउँदाको समयमा जम्मा हुने स्थान बनाउने योजना जग्गा अभावमै रोकिएको हो । अहिले सहरका धेरैजसो सडक व्यवस्थापन गरिसकेकाले अन्य काम पनि छिट्टै सक्ने इन्जिनियर कोमलचन्द्र साहले बताउनुभयो  । – कान्तिपुर दैनिक

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित