छबिलाल पाण्डे, बुर्तिबाङ : जनउद्धार केन्द्र मलेसियाद्वारा पठाइएको हाई फलो अक्सिजन दिने मेशिन (वि प्याप) बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्त्रण गरिएको छ ।
जनउद्धार केन्द्र मलेसियाका नेपाल कोर्डिनेटर मुकुट रायमाझीको पहलमा पठाइएको दुई थान उक्त मेसिन बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको हो । बडिगाड गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष मौसम काजी क्षेत्रीले उक्त सामग्री स्वास्थ्य संस्थाका प्रमुख डा. मिलन मल्ल र स्वास्थ्य संस्था व्यवस्थापन समिति अध्यक्ष चित्र बहादुर भण्डारी, समाजसेवी सोम पौवीको रोहबरमा हस्तान्तरण गरेका थिए ।
उनले बोल्दै आफनो पहलमा उक्त सामग्री बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध गराइएको बताउँदै हाई फलो अक्सिजन दिनुपर्ने बिरामीका निम्ति मेशिनले महत्वपूर्ण सहयोग पु¥याउने बताए ।
कार्यक्रमका अवसरमा डा. मिलन मल्लले बोल्दै उक्त मेसिनले प्रति मिनेट १५ लिटर भन्दा माथि हाई फलो अक्सिजन दिनका निम्ति महत्वपूर्ण सहयोग गर्ने बताउँदै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गरे ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष एवं ढोरपाटन नगरपालिका १ का अध्यक्ष चित्र भण्डारीले बोल्दै सहयोगी दाताहरुका कारण बिरामीलाई स्वास्थ्य सेवा थप उपलब्ध गराउन स्वास्थ्यकर्मीलाई सहज हुनुका साथै बिरामीलाई समेत यहीं उपचार गर्नमा सहजता भइरहेको बताउँदै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गरे ।
कोभिड १९ प्रभावको समयमा अक्सिजन लेवल अत्याधिक मात्रामा घटेका बिरामीलाई समेत हाई फलो अक्सिजन दिएर राहत दिन सकिने डा. मिलन मल्लको भनाई थियो । जनउद्धार संस्थाले देशका विभिन्न स्वास्थ्य संस्थामा गरी ६५ वटा (वि प्याप) मेसिन उपलब्ध गराएको छ ।