बडिगाड अनलाइन । बुबाको मृत्युपछि अभिभावक विहिन बनेको एक परिवारलाई विरकोट काँडेबास सामाजिक क्लव युकेले सहयोग गरेको छ । बाग्लुङको गल्कोट नगरपालिका वडा नं ८ विरकोटका ३७ वर्षीय यमबहादुर दर्जी सिँचाई कुलो चलाउने क्रममा लडेर मृत्यु भएपछि विचल्लीमा परेका परिवारलाई क्लवले सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।
क्लवले विरकोट र काँडेबास स्थायी घर भई हाल वेलायती सेनामा कार्यरत सैनिक तथा अन्य जिल्लाका व्यक्तिहरुसगं बेलायतमा सहयोग सकंलन अभियान सञ्चालन गरी सकंलित रकमबाट सहयोग हस्तान्तरण गरेको हो । २७ जनाबाट सकंलित कुल रकम २ लाख, ४५ हजार, ६ सय मध्येबाट दर्जीको जेठो छोरा सुशिल दर्जी र परिवारको जिविकोपार्जनका लागि १ लाख ४५ हजार बराबरको सिलाई बुनाई मेसिन र कपडा किनेर हस्तान्तरण गरिएको छ । त्यस्तै बाँकी १ लाख रुपैयाँ दर्जीका २ वटा नाबालक छोराहरुको माध्यमिक तहसम्मको पठनपाठनको सम्पूणर् खर्चमा प्रयोग गर्ने गरी शैक्षिक कोष निर्माण गरिएको छ ।
काँडेबासमा रहेको दरमखोला बहुउद्धेश्यीय सहकारी संस्था लि.मा ५० हजार ३ वर्षे मुद्धती र ५० हजार बचत खातामा जम्मा गरेर २ नाबालक छोराहरुको पठनपाठनमा खर्च गर्ने गरी व्यवस्था मिलाईएको जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजिन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उहाँले सहयोगीसबै प्रति विद्यालय र क्लवको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा गल्कोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष राम प्रसाद कंडेलले मानविय समवेदनासगैं पारिवारिक स्थिति बुझेर क्लवले गरेको सहयोग सह्रानीय रहेको भन्दै यसले समाज विपत्ति, भैपरि र सुख दुखमा उत्तरदायी छ भन्ने सन्देश दिएको बताउनुभयो ।
क्लवले यस अगाडी खड्कथानको गेट निर्माणका लागि सहयोग गरेको भएपनि मानविय रुपमा पहिलो सहयोग रहेको र विरकोट काँडेबासको मात्रै नभई अन्य जिल्लाका सहयोगी हातहरुको पनि सहयोग रहँदै आएको क्लवका अध्यक्ष रेशम बुढाथोकीले जानकारी दिनुभयो । बेलायतमा रहेका विरकोट र काँडेबासका भूपू सैनिकहरु मिलेर गठन गरिएको पारिवारिक संस्था भएपनि अन्य ठाउँका सहयोगीहरुबाट पनि सहयोग भएकाले संस्थाले भावि दिनमा विभिन्न ठाउँमा हुने विपत्ति र अफ्ठ्यारोमा सहयोग गर्दै जाने उहाँले जानकारी दिनुभयो ।
जेठो छोरा सुशिलले सहयोगी क्लव प्रति धन्यवाद व्यक्त गर्दै आफुलाई दिईएको मेसिनको सही सदुपयोग गर्ने बताएका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बेदिलाल सापकोटा, बजार व्यवस्थापन समितिका अध्यक्ष भविलाल गौतम, समाजसेवी डम्मर बहादुर सलामी, दाता तर्फको परिवारबाट रेखा बुढाथोकी, तोया काउचा,गुञ्जन बुढाथोकी पत्रकार कौरव खत्री, सागर भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक तेजिन्द्र बुढाथोकीले गर्नुभएको थियो ।
गल्कोट नगरपालिका वडा ं ८ बिरकोट निवासी स्व. यम बहादुर दर्जीको गत असार ७ गते ३७ वर्षको उमेरमा लडेर मृत्यु भएको थियो । उनको मृत्युपछि घरमा जिविकोपार्जनमा समेत समस्या भएको थियो । पारिवारिक रुपमा विचलन भएका तीन भाई छोराहरुको जिविकोपार्जन र पठनपाठनमा सहयोग पुर्याउन क्लवले सहयोग गरेको हो । दर्जीका माईलो छोरो सुदिप दर्जीले कक्षा १० मा कान्छो छोरो सन्दिप दर्जीले जनजागृति माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दै गरेका छन् ।