प्रेम सुनार गुल्मी । गत केहि दिन यता नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौड्याल गृह जिल्ला गुल्मीको आफ्नै जन्मथलो रुरु क्षेत्र गाउँपालिकामा नेकपा माओवादी केन्द्रका भेला-सम्मेलनहरुमा प्रमुख अतिथीका रुपमा सहभागि हुँदै सो पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षण दिई रहेका छन् ।
जुन गाउँपालिका नेकपा एमालेका प्रभावशाली नेता एवं पुर्वमन्त्री प्रदिप कुमार ज्ञवालीको पनि गाउँ हो । आज शनिवार पनि उनी त्यस गाउँपालिका-४ बलेटक्सारमा भएको माओवादी केन्द्रको वडा सम्मेलनमा प्रमुख अतिथी भएर प्रशिक्षण दिएका छन् । उनले बोल्ने क्रमको सुरु मै अब माओवादी केन्द्रका कार्यकर्ताहरु सबै भन्दा बढि भ्रष्टचार बिरुद्ध लडनु पर्ने सुझाव दिए ।
विगतमा नेकपा एमालेको गढ मानिने बलेटक्सारमा केहि दिन यता एमालेका कार्यकर्ताहरुले पुर्व मुख्यसचिव पौड्याल रुरु क्षेत्र गाउँपालिकाका प्रत्येक वडामा हुने माओवादी केन्द्रको भेला-सम्मेलनमा सहभागि हुँदै आए पछि सामाजिक सञ्जालमा आलोचना गर्दै आएका छन् ।
माओवादी कार्यकर्ताहरुले एमाले कार्यकर्ताहरुलाई विभिन्न भ्रम छरेको भन्दै प्रतिवाद गर्दै आएका छन् । त्यसलाई लक्षित गर्दै पुर्व मुख्य सचिव पौड्यालले माओवादी कार्यकर्ताहरुलाई भने-‘ अरु कसैले अन्याय गर्यो भने त्यसलाई नसहनुस् , संगठित रुपले प्रतिवाद गर्नुस् । अब सब भन्दा बढि लड्नु पर्ने भ्रष्टचारीहरु संग हो । त्यो संस्थागत हुँदै माथी सम्म जान्छ । ’
उनले सो गाउँपालिका -५ को वम्घामा आयोजित माओवादी केन्द्रको वडा सम्मेलन र वाईसेलको भेलामा अहिलेको परिवर्तन ल्याउने माओवादी नै भएको ठोकुवा गरेका थिए । माओवादी ईतरका राजनैनितक दलहरुलाई लक्षित गर्दै उनले भने-‘ मुलुक रुपान्तरणको एजेण्डा बोक्ने र अहिलेको ब्यवस्था ल्याउने माओवादी तर उहि क्या ? काम गर्ने कालु मकै खाने भालु भने जस्तै भएको छ । ’
उनले माओवादीले जन स्तर सम्म आफुहरुले ल्याएको परिवर्तन र गरेको जनमुखी काम बुझाउन नसकेर त्यसको फाईदा अरुहरुले लुटेको धारणा राखेका थिए । उनले माओवादी र एमाले पार्टी उस्तै उस्तै हुन जता गए पनि एउटै हो भन्ने नसोच्न कार्यकर्ताहरुलाई सुझाउँदै भने-‘ एमाले र माओवादी एउटै होईन , फरक छ माओवादीले नै अहिले दलित , लगायतका पछाडी परेका वर्ग समुदायलाई प्रत्येक तहमा प्रतिनिधीत्व गराएको हो ।
हुन त पहिला पनि दलितहरुलाई वडा सदस्य यहि बलेटक्सारमा बनाएका थिए । तर त्यो होईन्, अहिले माओवादीले अधिकारका रुपमा अनिवार्य स्थापित गरेको छ । ’उनले वडा सम्मेलनबाट निर्वाचित पार्टी कमिटी र वाईसियल वडा कमिटीलाई सपथ समेत खुवाउँदै आएका छन् । उनले माओवादीको पार्टी सदस्यता भने आफुले नलिएको बताए ।