सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पिएनसी घरभेट कार्यक्रमको समिक्षा तथा सुक्ष्म योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । मातृ तथा शिशु मृत्युदर कम गर्ने उद्धेश्यले आर्थिक वर्ष २०७७/०७८ बाट नगरपालिमा सुरुवात भएको कार्यक्रमको समिक्षा गरिएको हो ।
कार्यक्रममा नगरपालिका अन्तर्गत ९ वटै वडामा रहेका स्वास्थ्य संस्थाका प्रमुखहरुले स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरु, घरमा वा घर बाहिर अन्यत्र गर्भवती भएका महिला, प्राटोकल अनुसार ३ पटक पिएनसी जाँच गराएका गर्भवतीहरु, परिवार नियोजनका साधनको प्रयोगको अवस्थाका बारेमा जानकारी गराउनुका साथै वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन प्रस्तुत गर्दै उनीहरुले पिएनसी घरभेट कार्यक्रम र गर्भवतीसगं नगर उपप्रमुख कार्यक्रम निकै प्रभावकारी भएको धारणा व्यक्त गरेका थिए । आँपचौर स्वास्थ्य चौकीका ईन्चार्ज माधव खरेले यी कार्यक्रमले घरमा सुत्केरी हुने महिलाहरुको संख्या कमी भएको र गर्भावस्था र सुत्केरी भईसकेपछिको अवस्थामा आईपर्ने ससाना स्वास्थ्य समस्या समाधान गर्न सहयोग पुगेको बताउनुभएको थियो ।
कार्यक्रममा मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले पिएनसी घरभेट कार्यक्रम मार्फत सुत्केरी भएको २४ घण्टा भित्र, ३ दिन र ७ दिनमा घरमै गई स्वास्थ्य परिक्षण र आवश्यक सुझाव सल्लाह दिईने बताउनुभयो । त्यस्तै उहाँले यो कार्यक्रमको लक्ष्य गर्भावस्थाबाट सुत्केरी भईसकेपछि हुने सम्भावित जोखिम न्यूनिकरण गर्दै घरमा सुत्केरी हुने महिलाको संख्या शुन्य बनाउने र मातृ तथा शिशु मृत्युदर कम गर्ने रहेको बताउनुभयो ।
जिसीले मुसिकोट नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ मा ५८ प्रतिशत स्वास्थ्य संस्थामा र ३२ प्रतिशत महिला घरमै सुत्केरी भएको भन्दै घरमा सुत्केरी हुने महिलाको संख्या कम गरी चालु आर्थिक वर्षमा नगरपालिकाका ३,६ र ७ नं वडालाई शुन्य डेलिभरी र पूणर् पोषण युक्त घोषणा गर्ने योजना रहेको बताउनुभयो । साथै उहाँले सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्ने योजनाका साथ अगाडी बढेको समेत बताउनुभयो ।
गर्भवती आमा र शिशुको स्वास्थ्य प्रवर्द्धन गर्न गर्भावस्थामा ४ पटकसम्म अनिवार्य रुपमा स्वास्थ्य संस्थामा गई नियमित गर्भ परिक्षण गर्ने महिलालाई ९ महिना पुगेपछि गर्भतीसगं नगर उपप्रमुख कार्यक्रम मार्फत पोषण सामाग्री समेटिएको कोशेली झोला वितरण गर्ने गरिएको छ । उक्त कार्यक्रम लागु भएपछि नियमित रुपमा स्वास्थ्य संस्थामा गई स्वास्थ्य परिक्षण गराउने आमाहरुको संख्यामा वृद्धि भएको कार्यक्रमका सहभागीहरुको भनाई थियो ।
कार्यक्रममा सहभागीहरुले कतिपय स्वास्थ्य संस्थामा एसबीए प्राप्त स्वास्थ्यकर्मी नहुनु, भौगोलिक अवस्था, यातायातको असुविधा जस्ता कारण घरमै सुत्केरी हुने गरेको गुनासो गरेका थिए । कार्यक्रममा नगरउपप्रमुख कमला शर्माले स्वास्थ्यकर्मी र कर्मचारीहरुकै सक्रियताले मुसिकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्यनीय प्रगति हासिल गरेको बताउनुभयो ।
उहाँले गर्भवतीसगं नगरउप्रमुख कार्यक्रम गत आर्थिक वर्ष देखि नगरपालिकामा लागु भएकाले गर्भवती महिलाहरुले अनिवार्य रुपमा नजिकैको स्वास्थ्य संस्थामा गई ४ पटक स्वास्थ्य जाँच गनुपर्ने भन्दै जसले आमा र बच्चाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिईरहन आग्रह गर्नुभयो । भौतिक निर्माण मात्र विकास होइन, महिला र शिशुको स्वास्थ्य सुधार गर्नु पनि विकास हो भन्ने मान्यतासाथ यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै उपप्रमुख शर्माले कार्यक्रमबाट लाभ लिन सम्पूणर् गर्भवतीलाई आग्रह गर्नुभयो ।
मुसिकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटाले जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम मात्रै सञ्चालन गर्न सकेपनि स्वास्थ्य क्षेत्रमा अझै धेरै सुधार हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष पूणर् बहादुर हितान, वडा नं ९ का वडाध्यक्ष नरेशराज खरेल, वडा नं २ का वडासदस्य बाबुराम खत्री नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुका प्रमुख तथा प्रतिनिधि, मुसिकोट नगरपालिका स्वास्थ्य शाखा कम्प्यूटर अपरेटर दिपेश राना लगायतको उपस्थिति रहेको थियो ।
मुसिकोट नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य सहसयोंजक पुष्कर गौतमले गर्नुभएको थियो ।