सागर भण्डारी,गुल्मी । १७ औँ राष्ट्रिय कफी दिवस गुल्मीमा पनि मनाईएको छ । कफी विकास केन्द्र मुसिकोट नगरपालिका ५ गुल्मीको आयोजनामा ‘कफी किसानलाई संरक्षण र प्रोत्साहन, व्यवसायिक कफि उत्पादनमा युवाको योगदान भन्ने नाराका साथ साथ कफी दिवस मनाइएको हो ।
बिसं १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बिउ गुल्मीको मुसिकोट नगरपालिका ५ आपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेती सुरुवात भएको मानिन्छ ।
मुसिकोट ५ तल्लाफाँट स्थित केन्द्रको आफ्नै भवनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति अधिकारी विजय कुमार कार्कीले गुल्मी जिल्लामा कफी खेतीको सम्भाव्यता रहेकाले युवाहरुलाई कफी खेतीमा जागरुक गराउन सरोकारवाला सबै निकायसगं समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रमकै अवसरमा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले गुल्मी जिल्लालाई कफी खेतीकै उद्गम स्थलको रुपमा विकास गर्न नारामा भनिएबमोजिम युवाहरुलाई यस खेतीतर्फ आकर्षित गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
उक्त अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई गुल्मीका प्रमुख श्री कृष्ण न्यौपानेले कफी खेती विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै किसान प्रतिनिधि दुर्गादत्त खरेलले गुल्मीमा कफीको विगत वर्तमान र भावि दिनमा गर्न सकिने कामका विषयमा बताउँदै कफीलाई उन्नयन गर्नका लागि युवाहरुको भुमिका रहनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा चिया तथा कफी विकास बोर्डका सदस्य जीवन खरेल, नापी कार्यालय मजुवा प्रमुख दिनेश बखुन्चे, डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत मुना शर्मा, तुराङ्ग बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल प्रदिपराज पाण्डे, शिव शकंर माध्यमिक विद्यालय आँपचौरका प्रधानाध्यापक बाबुराम काफ्ले, केन्द्रका कर्मचारीहरु, कफी कृषकहरु लगायतको उपस्थिति रहेको थियो ।
कफी विकास केन्द्र आँपचौर गुल्मीका प्राविधिक सहायक कल्पना धमलाको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन केन्द्रका खरिदार कृष्ण प्रसाद ज्ञवालीले गर्नुभएको थियो ।
देशकै एकमात्र कफी विकास केन्द्रमा यस अगाडी ३७.३३ रोपनी जग्गा रहेकोमा यसै आर्थिक वर्षमा थप १ सय ८० रोपनी जग्गा प्राप्ति भएको छ । कफि विकास केन्द्र कफि खेती विस्तारका लागि जात अनुसारको विरुवा उत्पादन गर्न, विउ विरुवा उत्पादन गर्न, कफीहरुको नमुना जर्मप्लाजम गर्ने, ब्लग बनाउने, तथा अनुसन्धान गर्ने कफि कृषकहरुलाई तालिम तथा प्रविधि विस्तार र खेती प्रणालीका विषयमा जानकारी दिने लगायतका कार्यक्रमहरु गर्दै आएको छ ।