गुल्मी । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खचिएर आफ्नो जन्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी भोज समेत गर्ने प्रचलन बढदै गरेको छ । तर केहीमा भने सामाजिक भावना पनि रहेको छ
गुल्मीको मुसिकोट नगरपालिका वडा नं २ निवासी तथा सञ्चारकर्मी दिपक नेपालीले भने आफ्नो जन्मदिनको खर्च विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेर मनाएका छन् । सञ्चारकर्मी नेपालीले आफ्नो जन्मदिनको अवसर पारेर बाग्लुङको बडिगाड गाउँपालिका वडा नं ५ दाँगका अभिभावक विहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
दैनिक ज्यालामजदुरी गरेर परिवारको लालनपोषण गर्दै आएका आफ्ना बाबु देविराम गुरुङको भिरबाट लडेर मृत्यु भएपछि अध्ययन गर्न समेत आर्थिक अवस्था दयनीय भएका बालबालिकालाई नेपालीले शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
उक्त परिवारमा रहेका ५ जना बालबालिकालाई कपि, कलम गरी झण्डै ४ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको हो । सञ्चारकर्मी नेपालीले अभिभावकविहिन बनेका नानी बाबुहरुको अध्ययनका लागि थोरै भएपनि सहयोग होस् भनेर आफुले शैक्षिक सामाग्री वितरण गरेको बताए ।
विद्यार्थीको शैक्षिक उन्नतीको लागि जन्नदिन मनाउने खर्च कटाएको छु । हामी जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्न सक्छौं तर गरिब विपन्न विद्यार्थीको शैक्षिक उन्नतीका लागि कहिलै सोच्दैनौं ।’ उनले फजुुल खर्च गर्नुभन्दा पनि समाजका अन्य असहाय, अनाथ र विपन्न वर्गलाई सहयोग गर्न सबैलाई आग्रह गरे ।
शैक्षिक सामाग्री ग्रहण गर्दै टिका गुरुङले आफुहरुको अवस्थाको बारेमा बुझेर शैक्षिक सामाग्री वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै जन्मदिनको शुभकामना व्यक्त गरिन् । कार्यक्रममा थानापति आधारभूत विद्यालयका प्रधानाध्यापक घिमिरे, सामुदायिक रेडियो पुष्पाञ्जलीका स्टेशन म्यानेजर प्रकाश घिमिरे, समाचार प्रमुख सागर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।