सागर भण्डारी,बडिगाड अनलाइन । बडिगाड गाउँपालिका र गुल्मीको मुसिकोट, पौदी तथा इस्मालगायतको क्षेत्र समावेश भएको पौंदी न्वागी मेला शुरु भएको छ । ऐतिहासिक महत्व बोकेको र धार्मिक आस्था समेत जोडिएकोले न्वागी मेलालाई स्थानीयले आफ्नो अस्तित्व सँज जोडेर हेर्छन् । आईतबार शुभ साईतमा न्वागी खाएपछि हिँजो देखि नै न्वागी मेला सुरु भएको हो ।
सोमबार बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले मेलाको उद्घाटन गर्नुभएको छ । उहाँले पौंदी मेलालाई संरक्षण र सवंद्र्धन गर्दै स्थानीय पहिचान सँग जोडेर हेर्नुपर्ने बताउनुभयो । उहाँले न्वागी मेलाले स्थानीय कला संस्कृति र यस क्षेत्रको अस्तित्व बचाई राखेको पनि बताउनुभयो । उहाँले गाउँपालिकाले यस पर्वको संरक्षणका लागि प्रत्येक वर्ष समितिसगं मिलेर सहकार्य र समन्वय गर्दै आईरहेको पनि बताउनुभयो ।
मेलाको अवसरमा आयोजना गरिएको गाउँपालिका अध्यक्ष कप खुल्ला भलिब प्रतियोगीता, रेकर्ड डान्स प्रतियोगीता लगायतका अन्य कार्यक्रमहरु पनि सुरु भएका छन् । बडिगाड गाउँपालिकाको अगुवाईमा भएपनि यो मेला दुइवटै जिल्लाको पौदी क्षेत्रको साझा चाडको रुपमा चिनिन्छ । स्थानीय पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिले न्वागी पर्वलाई मेलाको रुपमा बिकास गरेको हो । बर्षौदेखि भएपनि यो मेलालाई स्थानीय तहले समेत अपनत्व लिएर मनाउन थालिएको छ ।
यो मेलामा स्थानीय कला, सस्कृति झल्काउने पर्वको रुपमा बिकास गर्न लागिएको समितिका सचिव बिष्णुप्रसाद आचार्यले बताउनुभयो । मेलालाई निरन्तरता दिन उनीहरुले राज्य र स्थानीय तहको लगानी बढाउनुपर्ने बताउनुभयो ।
बागलुङको ग्वालीचौर, भीमगिठे, दगातुम्डाँडा र जलजला, गुल्मीको पौंदी अमराई, नेटा दर्लिङ र इस्मा समेत मिलाएर संयुक्त न्वागी मेला आयोजना गरिएको हो । नयाँ धानबाली भित्राउनका लागि न्वागी खाने चलनलाई मेलाको रुपमा भित्राइएको हो ।
स्थानीयको एकसय मुरी धान उत्पादन हुने जग्गाहरुको व्यवस्थापन गरेर तत्कालिन अबस्थामा बनेको गुठी र जग्गालाई अहिले पनि परंपराको रुपमा लिने गरिन्छ । यद्यपी अहिले उक्त जग्गा सामुहिक सम्पत्तिको रुपमा छैन । छत्रभूमिको रुपमा गुठीको नामाकरण पनि गरिएको छ । उक्त गुठीको चामलबाट न्वागी खाने, विभिन्न पूजाको अक्षेता बनाउने र मेला आयोजना समेत गरिन्छ ।
मसिंर ५ गतेदेखि ८ गतेसम्म मेला आयोजना गरिएको छ । मेलामा १ लाख राशिको गाउँपालिका अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगीता, सास्कृतिक झाँकी, लोकदोहोरीगीत प्रतियोगिता, नृत्य, रस्साकस्सी, लगायतका आर्कषण समेत राखिएको छ ।
उद्घाटन सत्र पौँदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, बडिगाड डोजोका अध्यक्ष राजन पाईजाको स्वागत मन्तव्य र सचिव विष्णु प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।