बागलुङ : जिल्लाको बडिगाड गाउँपालिका-३ सिसाखानीका स्वयम घर्तीको जीवन रक्षाका लागि परिवारले सहयोगको अपिल गरेको छ ।
खडकबहादुर घर्तीका तीन वर्षीय छोरा स्वयंमको दुबै कानको अप्रेसन गर्नुपर्ने भएकाले परिवारले सहयोग अपिल गरेको हो । सुरुमा निमोनियाको समस्या देखिएको स्वयमले विस्तारै श्रवणशक्ति गुमाउँदै गएको र श्रवणयन्त्र राख्दा पनि सुन्न नसक्ने भएका कारण अप्रेसन गर्नुपर्ने भएको र त्यसका लागि ठूलो खर्च लाग्ने भएकाले सहयोगको अपिल गर्नुपरेको बाबु खडकहादुर घर्तीले बताए ।
‘उसको उपचारका लागि बुटवल, पोखरा र हरियोखर्कमा गरी सात लाख बढि खर्च भैसक्यो,’ उनले भने,‘अहिले टिचिङ अस्पताल काठमाडौंमा उपचार भैरहेको छ ।
पहिले निमोनिया देखिएको थियो पछि खोकी लाग्यो अहिले कान सुन्न छोडेको छ । त्यसको उपचार अप्रेसबाट मात्रै सम्भव भएको र त्यसका लागि १२ लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ ।’ उनको एक छोरी र स्वयम गरी दुई सन्तान छन् ।
छोराको उपचारमा अहिलेसम्म ठूलो रकम खर्च भैसकेको र अबको उपचारका लागि आर्थिक अभाव भएका कारण सहयोदाताहरुको सहयोग पाए छोराको जीवन रक्षा हुने उनले आशा व्यक्त गरे ।
स्वयमको उपचारका लागि सहयोग गर्न चाहानेहरुले खडकहादुरको मोबाईल नम्बर ९८४७४९३०१९ मा सम्पर्क गर्न सकिनेछ ।