टुंगिएन बागलुङ र पूर्वी रुकुम जिल्लाको सीमा विवाद !

टुंगिएन बागलुङ र पूर्वी रुकुम जिल्लाको सीमा विवाद !

Badigad Online
3 Min Read

बागलुङ/बागलुङ र पूर्वी रुकुम जिल्लाबीच रहेको सिमा विवाद जिल्ला तहबाट टुंगो नलागेपछि प्रदेशमा पठाईने भएको छ । बागलुङ र रुकुमको सिमाना पातीहाल्नेमा रहेको विवाद जिल्ला तहमा भएका बिभिन्न चरणका छलफलबाट टुंगो नलागेकाले जिल्ला समन्वय समिति बागलुङले सिमा विवाद समाधानका लागि प्रदेश सरकारको साथ लिने भएको हो ।

दुई जिल्लाका जनप्रतिनिधि र प्रशासकीय टोली, पालिका स्तरका समुह र दुवै जिल्लाका प्राबिधिक समुहका बीचमा पटक पटक भएका छलफलबाट विवाद समाधान भएको छैन् । विवाद समाधानका लागि प्रदेशलाई अनुरोध गर्ने निर्याण भएको जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले बताए । सिमा विवाद समाधानका लागि गण्डकी र लुम्बीनी प्रदेश सरकारलाई लेखि पठाउने गरी पाचौं जिल्ला सभाले निर्णय गरेको छ । ‘हामीले पटक पटक छलफल र प्रयासहरु गरेका थियौं तर सकिएन्’ ढुंगानाले भने ‘अब प्रदेश र संघीय सरकारलाई विवाद मिलाउन अनुरोध गर्ने जिल्ला सभाले निर्णय गरेको छ ।’ जिल्ला समन्वय समितिले प्रदेश सरकारलाई पत्राचार गर्ने र विवाद समाधान छिटो गर्न ध्यानाकर्षण गराउने जनाएको छ ।

‘पातीहाल्ने पर्यटकीय क्षेत्र हो, यहाँको विकास कस्ले गर्ने भन्ने बिषय लामो समय विवाद रहँदा अन्यौल हुन्छ’ उनले भने ‘हामीले आठ दश मिटर त्याग गर्दा समेत रुकुम तयार भएन्, समस्या बल्झाउनुभन्दा माथिल्लो निकायमा पु¥याउनु न्यायोचित ठानियो ।’ विवाद समाधानका लागि बागलुङ र पूर्वी रुकुमको नापी कार्यालयका प्राबिधिकहरुले स्वतन्त्र नक्साङ्कन गरेका थिए । प्राबिधिकले गरेको नक्साङ्कनका आधारमा सिमामा किल्ला गाँड्न बागलुङले आग्रह गरेपनि रुकुमले मानिरहेको छैन् ।

बागलुङको निसीखोला र पूर्वी रुकुमको भूमे गाउँपालिकामा बिबादित सिमाना पर्छ । बागलुङ तर्फको जमिन केही समथर र रुकुम तर्फको जमिन केही भिरालो रहेको छ । सिमानामा रहेको रिघ ताल बागलुङ वा रुकुम कस्तको भूभागमा पर्ने भन्ने बिषयमा पनि विवाद छ । मध्यपहाडी लोकमार्ग निर्माण भएपछि पातीहाल्नेको विवाद थप उत्कर्षमा पुगेको हो ।

जिल्ला सभाबाट बीस प्रस्ताव पारित ।

बागलुङको जिल्ला सभाले बिभिन्न बीसवटा प्रस्ताव पारित गरेको छ । छिमेकी जिल्ला रुकुम र बागलुङको बिचमा रहेको सिमा विवाद समाधानदेखि अनाधिकृत झोले व्यापारीको नियन्त्रणका लागि सरोकारवाला पक्षको ध्यानाकर्षण गराउने सम्मका प्रस्ताव जिल्ला सभाले पारित गरेको हो ।

दुई पालिका जोड्ने मुख्य सडक बाह्रै महिना सञ्चालन हुने वातावरण बनाउने, राष्ट्रिय राजमार्ग छेउछाउका संरचना निर्माणमा मापदण्ड पालना गर्ने, कालोबजारी नियन्त्रणमा साझा कार्यक्रम ल्याउने, उत्तरगंगा जलाशययुक्त आयोजना निर्माणमा हुनसक्ने अबरोध समाधान गर्ने, गौरवका योजना समयमा सक्न ताकेता गर्ने र विकास निर्माणको जानकारी सर्वसाधारणलाई गराउने सम्मका निर्णयहरु जिल्ला सभाले गरेको छ ।

विकास निर्माणमा गुणस्तर, ढुंगागिट्टी बालुवा र खानीको उत्खनन् तथा जडिबुटीको निकासीमा सहज कानुनी व्यवस्था, ओमिक्रोनसँग जुध्ने योजना निर्माण, पालिकाहरुका प्रशासनीक भवन निर्माणका लागि पहल, अलपत्र संरचनाको पूर्ण निर्माण तथा हस्तान्त्रण, सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता ल्याउने समेतका प्रस्तावहरु सर्वसम्मत पारित भएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले बताए ।

ताराखोलाको स्लेट ढुंगा उत्खनन् तथा निकासीका लागि कानुनी झण्झटमा सरलीकृत गर्नुपर्ने तथा ढोरपाटन शिकार आरक्षको आफ्नै कानुनका कारण आरक्ष क्षेत्रमान निर्माण हुने संरचनामा उत्पन्न विवाद समाधानका लागि पहल गर्ने प्रस्ताव पारित भएको छ । -ढोरपाटन दैनिकबाट

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित