प्रकाश घिमिरे, मुसिकोट । मुसिकोट नगरपालिकामा ३ दिने एकीकृत पाठ्यक्रम शिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । सघींय सरकारको आर्थिक सहयोग, शिक्षा विकास तथा समन्वय ईकाई गुल्मीको आयोजना तथा मुसिकोट नगरपालिकाको सहजीकरणमा कक्षा १ देखि ३ सम्मका शिक्षकहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।
कक्षा १ देखि ३ सम्म लागु भएको नयाँ पाठ्यक्रमको प्रवद्धिकरण गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा नगरपालिका अन्तर्गत रहेका ७० विद्यालयका शिक्षक, बालविकास सहजकर्ता गरी ८१ जनाको सहभागीता रहेको नगर शिक्षा शाखाले जनाएको छ ।
३ दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रमको पहिलो दिन नगर शिक्षा अधिकृत प्रकाश नेपालीले सहजीकरण गर्नुभएको थियो । त्यस्तै सोमबार र मगंलबार हुने प्रशिक्षण कार्यक्रमको नगर शिक्षा शाखा श्रोत व्यक्ति चुरा बहादुर छन्तेल,महेन्द्र आदर्श नमुना माविका सहायक प्रधानाध्यापक धनपति खरेल, शिक्षिका समिक्षा आचार्य, शारदा विद्या मन्दिर माध्यमिक विद्यालयका शिक्षक रामकृष्ण कडेंल लगायतले सहजीकरण गर्ने बताईएको छ ।
आज आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एवम् नगर प्रमुख सोमनाथ सापकोटाले शिक्षकहरु सक्षम भएमात्रै विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि हुने भएकाले यस्ता प्रशिक्षण तथा तालिमहरुले महत्व राख्ने बताउनुभएको थियो । आधारभूत तह भनेको विद्यार्थीको जग भएकाले जग बलियो भयो भने मात्रै घर बलियो हुने भएकाले आधारभूत तहमा अध्यापनरत शिक्षकहरुले मेहनतका साथ पठनपाठन गर्न आग्रह गर्नुभयो ।
त्यस्तै नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले शिक्षकहरु आफ्नो पेशाप्रति कटिबद्ध भएर लाग्नुपर्ने भन्दै विद्यार्थीहरुलाई सुधारात्मक र उपचारात्मक विधिबाट पठनपाठन गर्नुपर्ने बताउनुभएको थियो ।
प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालको अध्यक्षता रहेको कार्यक्रममा नगर शिक्षा अधिकृत प्रकाश नेपालीको स्वागत मन्तव्य र सञ्चालन श्रोत व्यक्ति चुरा बहादुर छन्त्यालले गर्नुभएको थियो ।