स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी अभिमुखीकरण सम्पन्न !

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी अभिमुखीकरण सम्पन्न !

Badigad Online
4 Min Read

सागर भण्डारी, गुल्मी । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी सबल र दुर्बल पक्ष पहिचान गर्ने तथा विकास र सुशासनमा रहेका कमीकमजोरी पत्ता लगाउँदै आवधिक समिक्षाको लागि आधार तैयार गर्ने उद्धेश्यले मुसिकोट नगरपालिकाको आयोजनामा होटल दरबार वामीटक्सारमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुखहरुले स्वमूल्याङ्कनका आवश्यक पर्ने विभिन्न सुचक, विषगत क्षेत्र र प्रमाणिकरणका आधारहरुका बारेमा सहभागीहरुलाई प्रष्ट पारेका थिए । कार्यक्रमको महत्व औचित्य आवश्यकता, कानुनी आधार र ती आधारहरु कति विधि सवंत छन् भन्ने विषयमा जानकारी दिँदै नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले स्वमूल्याङ्कन कार्यविधिका प्रावधानका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । प्रस्तुतिकरण गर्दै भुषालले, यो मूल्याङ्कनबाट मुसिकोट नगरपालिका कुन ठाउँमा छ ? सुधार गर्नु पर्ने ठाउँ कहाँ र कति रहेछन् भन्ने तथ्य प्राप्त हुने अपेक्षा गर्नुभयो । उहाँले सुगम र दुर्गम पालिकाहरुलाई बर्गीकरण नगरी एउटै सूचक बनाउनु गलत रहेको धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै सोही अवसरमा योजना शाखा प्रमुख मुना ज्ञवालीले शाशकीय प्रबन्ध,सगंठन तथा प्रशाशन,बार्षिक बजेट तथा योजना व्यवस्थापन र वित्तिय एवम् आर्थिक व्यवस्थापनका विषयमा प्रस्तुती गर्नुभएको थियो । त्यस्तै विष्णु प्रसाद खरेलले सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन र भौतिक पूर्वाधार तथा प्रशाशन शाखा प्रमुख प्रकाश घिमिरेले सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य एवम् समन्वयका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । भने सुचना प्रविधि अधिकृत समुन्द्र विक्रम रायमाझीले डाटा तैयारी अपलोड लगायतका प्राविधिक विषयसंग सम्बन्धित रहेर सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख सोमनाथ सापकोटाले स्वमूल्याङ्कन मुसिकोट नगरपालिकाले आफ्नो आफै मूल्याङ्कन गर्ने विधि भएकाले वास्तविकतामा टेकेर मूल्याङ्कनमा सहभागी हुन आग्रह गर्दै यसले नगरपालिकाले कार्यसम्पादन गर्दा भएका कमजोरीहरुको पत्ता लगाउन मद्धत पुग्ने बताउनुभएको थियो । स्वमूल्याङ्कनमा उच्चतम प्रतिफल ल्याउन सबै विभागहरुले लक्षित समयमा जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले स्वमूल्याङ्कनका सूचकहरुलाई आधार मानेर बजेट र योजना बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

स्वमूल्याङ्कनका लागि कार्यविधिअनुसार गर्नुपर्ने काम गर्न गराउन नगरपालिकाले जनप्रतिनिधि र कर्मचारी सम्मिलित विभिन्न ५ वटा विषयगत समितिहरु पनि निर्माण गरेको छ । मुसिकोट नगरपालिकाले आ. व. ०७६/०७७ मा सम्पादन गरेका कामको स्व-मूल्याङ्कनमा ७१.५ अङ्क प्राप्त गरि लुम्बिनी प्रदेशमा रहेका स्थानीय तह मध्ये १० औँ स्थान र गुल्मीमा चौँथो स्थान प्राप्त गरेको थियो । देश संघीय शासन पद्धतिमा गइसकेपछि ०७७ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङ्कन कार्यविधि’ का प्राबधानबमोजिम मूल्याङ्कन गरिएको थियो ।

कार्यविधिअनुसार समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी ३ तहका सूचकका आधारमा मूल्या्कन हुनेछ । यी सूचकहरुमा क्रमशः २१, ३४ र ४५ प्रतिशत अङ्क भार राखिएको छ । त्यस्तै १० वटा विषय क्षेत्रमा बर्गीकरण गरिएको छ । यी सूचकहरुमा ९ पूणर्ाङ्कको शासकीय प्रबन्ध, ८ पूणर्ाङ्कको संगठन तथा प्रशासन, ११ अङ्कको बार्षिक बजेट तथा योजना व्यवस्थापन, ११ अङ्कको वित्तिय एवम आर्थिक व्यवस्थापन, १० अङ्कको सामाजिक समावेशीकरण लगायत क्षेत्र छन् ।  १६ अङ्कको सेवा प्रवाह, ७ अङ्कको न्यायिक कार्यसम्पादन र १३ अङ्कको भौतिक पूर्वाधार क्षेत्र छन् । ९ अङ्कको वातावरण संरक्षण तथा विपद व्यवस्थापन, ६ अङ्कको समन्वय सहकार्यमा मूल्याङ्कन हुनेछ ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाको अध्यक्षता, नगर उपप्रमुख कमला शर्माको स्वागत तथा राजस्व शाखा प्रमुख गोविन्द कडेंलको सञ्चालन रहेको थियो भने जनप्रनिनिधि, विभिन्न विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित