छबिलाल पाण्डे, बुर्तिबाङ : पश्चिम बागलुङ धार्मिक तथा पर्यटकीय गन्तव्यसँगै भाँगो, आलु, भटमास लगायतका खाद्यबालीले पनि परिचित छ । यहाँको उत्पादन स्वदेशदेखि विदेशसम्म पुगे गरेको पाइन्छ । योसँगै पछिल्लो समय भोटे कुुकुरको माग समेत उत्तिकै बढ्न थालेको छ ।
सौखिनका लागि निसी भुजी क्षेत्रबाट वर्षेनी सयौँ भोटे कुकुरका बच्चा देशका विभिन्न ठाउँमा पु¥याउने गरिएको छ । विशेषगरी बुटवल, पोखरा, काठमाडौ, बागलुङ लगाएत मुख्य शहरबाट गाउँमा आएर भोटे कुकुर लैजानेको संख्या बढि रहेकोे ढोरपाटन नगरपालिका
वडा नम्बर ७ का ललित कुमार भण्डारीले बताए । केहिदिन अगाडी मात्रै ढोरपाटन–७ बोबाङका खड्क अदैले पालेको माउ भोटे कुकुर पचास हजार रुपैयाँमा विक्री भयो । सोहि दिन भेजिन्द्र भण्डारीले पालेको कुकुर पनि पचास हजार रुपैयाँमै विक्री भयो । ‘दैनिक जसो भोटे कुुकुरका बच्चा खोज्ने आउनेको संख्या बद्दो छ’ भण्डारीले भने ‘बोबाङ क्षेत्रबाट मात्रै वार्षिक १ सय बढी कुकुरका बच्चा विक्री हुने गरेको छ ।’
भोटे कुकुर ठुलो हुने, साहसिलो हुने र घरपालुवा जनावरसँग गोठमा बस्ने मानिसको रक्षा गर्ने भएका कारण धेरैको रोजाईमा भोटे कुकुर पर्ने गरेको हो । खासमा एकान्त घर, धेरै पशुचौपाया, फार्म जस्ता स्थानमा भोटे कुकुर राख्ने गरिए पनि पछिल्लो समय सौखिनका लागि भन्दै शहर बजारमा समेत लैजाने गरिएको छ ।
निसीभुजी क्षेत्रबाट मात्रै वार्षिक दुई सय बढि कुकुरका बच्चा विभिन्न स्थानमा खरिद गरेर लैजाने गरेको स्थानीय शेरबहादुर भण्डारीको भनाई छ । ‘पहिले पहिले आफन्ती पाहुनालाई निःशुल्क रुपमा कुकुरका बच्चा दिने गरिन्थ्यो, पछिल्लो समय एकै कुकुरको पचास हजार रुपैयाँसम्म पर्न थालेपछी आम्दानीको श्रोत समेत बन्दै गएको छ’ भण्डारीले भने । साना बच्चा पाँच हजारदेखि पच्चिस हजार सम्ममा विक्री हुने गरेकोमा आजभोली माग अत्याधिक हुन थालेपछी कुकुरको मुल्य समेत वृद्धि हुन थालेको स्थानीय बताउँ छन् ।
बोबाङ तथा ढोरपाटन क्षेत्र र निसीखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा अधिकांश घरमा भोटे कुकुर पाइन्छ । विशेषगरी वर्षातको समयमा लेकमा पशुचौपायासँग बस्नेहरुले अनिवार्य रुपमा भोटे कुकुर पाल्ने गरेका हुन्छन् । माउ कुकुरले पुस माघमा बच्चा जन्माउँछ । एकै बेतमा ४/५ वटासम्म बच्चा जन्माउने भएका कारण कतिपयको राम्रो आम्दानीको श्रोत समेत बन्न थालेको छ ।