मुसिकोट ८ वामी मैदानमा बर्थिङ सेन्टर संचालन

मुसिकोट ८ वामी मैदानमा बर्थिङ सेन्टर संचालन

Badigad Online
2 Min Read

सागर भण्डारी । गुल्मी मुसिकोट नगरपालिका ८ वामी मैदानमा बर्थिङ सेन्टर संचालन गरिएको छ । नगरप्रमुख सोमनाथ सापकोटाले उक्त बर्थिङ सेन्टरको आईतबार उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्वोधन गर्दै मेयर सापकोटाले जनताको स्वास्थ्यमा सहज पहुँच पुराउनका लागि नगरपालिकाले पहिलो प्राथमिकताका साथ काम गरेको बताउनुभएको थियो ।

उहाँले सहिद दिवसको अवसर पारेर वर्थिङ्ग सेन्टर उद्घाटन गरिएको बताउँदै ९ वटा वडा मध्ये वामी मैदान सहित ७ वटा वडामा वर्थिङ्ग सेन्टर सञ्चालनमा आएको बताउनुभयो ।

नगरको केन्द्रसगं जोडिएको उक्त वडामा बर्थिङ सेन्टर नहुँदा यसअगाडी प्रसुती गराउन वामीनै आउनुपर्ने वाध्यता रहेको थियो । वामीमैदानमा बर्थिङ सेन्टर संचालनमा आएसँगै अब सुत्केरी गराउनको लागि अन्यत्र जानुपर्ने वाध्यता हटेको छ ।

वडा नं ८ मा सञ्चालित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बर्थिङ सेन्टरको सुविधा पनि सञ्चालनमा आएपछि सहज हुने वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटाले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिकाले बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक उपकरण खरिदका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । बर्थिङ सेन्टरमा २ जना अनमीले नियमित सेवा दिने नगर स्वास्थ्य शाखाले जनाएको छ ।

मुसिकोट नगरपालिकाले नगरलाई शुन्य होम डेलिभरी बनाउने अभियान थालेको छ । जसका लागि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई निशुल्क एम्बुलेन्स सेवा, यातायात खर्च तथा गर्भवतीसगं नगर उपप्रमुख कार्यक्रम मार्फत पोषण र स्वास्थ्य केन्द्रीत कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकामा रहेका ९ वटा वडामध्ये हालसम्म ७ वटा बर्थिङ सेन्टर सञ्चालनमा आएका छन् ।

कार्यक्रममा नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष प्रकाश काफ्ले, कार्यपालिका सदस्य सत्य कुमारी जिसि, स्वास्थ्य संयोजक डिबि जिसि, ज्ञानहरि सापकोटा, एमाले नेता अग्नीधर लोहनी, कांग्रेस नगर सचिव भिमसेन केसि, जिल्ला खेलकुद विकास पुर्व अध्यक्ष गोविन्द विक लगायतको उपस्थिति रहेको िथियो ।

वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा वामि मैदान आधारभुत स्वास्थ्य केन्द्र इन्चार्ज जीवन रसमइलीको स्वागत मन्तव्य र सञ्चालन सुचना प्रविधि अधिकृत समुन्द्र विक्रम रायमाझीले गर्नुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित