बुर्तिवाङ । कुनै बेला थियो, आरन चलाउनेहरु बालीघरे थिए । वर्षको एकपल्ट दिने धान, मकैलगायतको अन्नपातले आरन चलाउनेहरुको जीवन कष्टकर थियो । वर्षभरी आरन चलाएर बिहान-साँझको गर्जो टार्न पनि धौ-धौ थियो । तर अहिले जमाना फेरिएको छ ।
बुर्तिवाङका मनबहादुर श्रीपालीले अहिले मासिक १ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । २०६९ साल तिर ढोरपाटन-६ अधिकारीचौरका मनबहादुर ६० हजार रुपैयाँ लिएर बुर्तिवाङ बजार झरे । बजारमा व्यवसाय गर्दा हुने कमाईले छोराछोरीको पठनपाठन राम्रो गर्ने आकांक्षाले बुर्तिवाङ झरेका उनका छोराछोरीको पठनपाठन त राम्रो भएकै छ, आम्दानी वर्षेनी बढिरहँदा बुर्तिवाङ बजार र तराईमा घरघडेरी जोड्न सफल भएका छन् ।
बुर्तिवाङ आरन व्यवसायी सेवाका सञ्चालक मनबहादुर बिहानदेखि साँझसम्म काममा व्यस्त छन् । बजारमा आरन भएकाले उनी धेरै व्यस्त छन् । उनको उद्योगमा ८ जना कामदार छन् । काम भ्याइनभ्याइ छ । उनले फलामबाट बन्ने अधिकांश औजार बनाउँदै आएका छन् । उनले खुकुरी, कोदालो, दाउ, बञ्चरो, हसियाँ, दराँती, कोठे थाली, थेवे, डाँसुलो र चुलेसीलगायत बनाउँदै बिक्री गर्दै आएका छन् ।
औजारको साइजअनुसार मूल्य फरक-फरक छ । ५० हजार रुपैयाँदेखि ३ लाख ३३ हजारसम्ममा उनले औजार बेच्दै आएको सुनाए । सबैभन्दा धेरै मूल्य ३ लाख ३३ हजार रुपैयाँमा खुकुरी बेचे, खुकुरीका सौखिनहरु धेरै मूल्य तिर्न पनि तयार छन् । उनले भने । मनबहादुरका अनुसार, उत्पादन भएका औजारको बजार गुल्मी, बाग्लुङ, म्याग्दी हो । माग भए काठमाडौं र बुटवलसम्म पनि जान्छ । पहिले-पहिले गाउँ-गाउँमा सामान लिएर डुलेर उनले प्रचार गरे ।
अहिले सामानको माग फोनबाट गर्दछन्, त्यसपछि आफै सामान लिएर जान्छु, उनले भने-शनिबार सामान लिएर गुल्मीको तम्घास र बलिथुमतिर जाँदैछु, सामानको माग आएको छ, सामानको अर्डर विभिन्न ठाउँबाट आउँछ, तयार भएको भए लिएर जान्छु, केही सामान तयार गर्न बाँकी भए छिटो तयार गरेर जान्छु । उनी हरेक वर्ष माघे संक्रान्ति मेलामा रिडीमा सामान बेच्न पुग्छन् । यो वर्ष पनि उनी रिडी पुगे ।रिडीमा उनले एक लाख रुपैयाँको सामान बेचे । सामान धेरै उत्पादन गर्न नसकेकोले राम्रो बिक्री गर्न नसकेको उनको भनाई छ ।
मनबहादुरका बुबाले आधिकारीचौरमा आरन चलाए । बुबाबाटै उनले आरनको काम सिके । आरन चलाएर आम्दानी गर्न धौ-धौ भएपछि उनी २०५५ सालमा कतार हानिए । त्यहाँ १८ महिना बसे । अरबको उखरमाउलो गर्मीमा लेवर काम गरे । राम्रो तलब थिएन् । आरनबाट आम्दानी भएन भनेर कतार पुग्दा पनि उस्तै भएपछि तलब बढाउन माग गर्दै हड्ताल गर्ने टुंगोमा पुगे । साथीहरुसँग सल्लाह भयो, तलब बढाउन हड्ताल गरौं भन्ने भयो, त्यसपछि समस्यामा परें,-उनले भने-हड्ताल गरेपछि नौ दिन जेल परें । त्यसपछि नेपाल फर्केको उनले सुनाए ।
कतारबाट फर्केको चार वर्ष गाउँमै बसे । अरु केही काम नपाएपछि फेरि आरन चलाए । आरन चलाएर आम्दानी भएन, कुनै उपाय लागेन । फेरि लागे दुवईतिर । त्यहाँ उनी ४२ महिना बसे । कतारमा भन्दा दुबई बस्दा उनले केही आम्दानी गरे । त्यसपछि घर फर्के । गाउँमा आरन चलाएर जीवनमा दुःख मात्रै हुने देखेपछि बुर्तिवाङ बजार झरेको उनको भनाई छ । अहिले बुर्तिवाङ बजार झरेर ठिकै गरिएछ भन्ने लागेको छ, आम्दानी राम्रो छ, मिहिनेत गरे यही राम्रै कमाउन सकिन्छ भन्ने भएको छ ।-उनले भने ।
त्यसो त उनले बाली घरे प्रथा हटाउन आरन चलाउन छाडेर विदेशिएको बताए । विदेशबाट फर्केपछि बालीघरे प्रथा अनुसार काम गरेनन् । त्यसपछि उनले श्रमको मूल्य पैसामा खोजे । पैसामा श्रमको मूल्य खोजेपछि बल्ल दिन फिरेका हुन् । उनले भने । बुर्तिवाङ बजारमा घडेरी किनेर घर बनाएका मनबहादुरले गत वर्ष भैरहवामा ५० लाख रुपैयाँमा एक कठ्ठा घडेरी किनेका छन् । उनका दुई छोरा र दुई छोरी छन् ।
जेठी छोरीले ल्याब पढेर स्वास्थ्यचौकीमा जागीर गर्छिन् ।
अरु तीन छोरा-छोरीले पढ्दै आएका छन् । अर्की छोरीले कक्षा १० मा, जेठो छोराले कक्षा ८ मा र कान्छो छोराले कक्षा ३ मा पढ्दै आएका छन् । आरन व्यवसायबाट राम्रो आम्दानी भएपछि छोराछोरीको पढाई पनि राम्रो भएको छ । आरन व्यवसायको प्रवद्र्धनका लागि अहिले घरेलु तथा साना उद्योग कार्यालयले ५६ हजार रुपैयाँ अनुदान दिएको छ । ढोरपाटन नगरपालिकाले पनि सहयोग गर्ने भएको छ । यो व्यवसायमा अरुलाई पनि लगाउन पाए हुन्थ्यो भन्ने उनलाई लागेको छ । लुम्बिनी दैनिकबाट