गुल्मी । मुसिकोट नगरपालिका वडा नं ४ का अग्निपिडित गुप्त बहादुर कार्कीलाई आर्थिक सहयोग गरिएको छ ।
गत फाल्गुण ७ गते भएको आगजनीबाट घरबार विहिन बनेका नेपाली काँग्रेस मुसिकोट वडा नं ४ वडा सभापति समेत रहेका कार्कीलाई काँग्रेसको पहलमा सकंलित रकम हस्तान्तरण गरिएको हो ।
नेपाली काँग्रेस मुसिकोट वडा नं ४ वडा कार्यसमितिको पहलमा आर्थिक सहयोग सकंलन अभियान मार्फत सकंलित रकम कार्कीको घरमै पुगेर हस्तान्तरण गरिएको हो । उक्त अभियान मार्फत सकंलित कुल १ लाख २ हजार ३ सय ३५ रुपैयाँ नगद रकम पीडित कार्कीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली काँग्रेस जिल्ला कार्यसमिति पूर्व सचिव हरिनारायण सापकोटाले आगलागी र तत्पश्चात भएका घटनामा तरुण दलले देखाएको सक्रियताको प्रशंसा गर्दै विपदमा काँग्रेस जस्तो सुकै सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश दिएको बताउनुभयो । उहाँले सिमित साथीहरुबाट सकंलित पहिलो चरणको रकम हस्तान्तरण गरिएको भएपनि अभियान अझै पनि जारी राख्न आग्रह गर्दै सहयोग सकंलन समितिलाई धन्यवाद व्यक्त गर्नुभयो ।
सापकोटाले वडा नं ४ मा भएका आगजनीका घटनामा प्रहरी प्रशासन गहिरिएर अनुसन्धान गर्ने तर्फ नगएकाले यस्ता गिरोहको मनोबल झनै बढ्दै गएको धारणा व्यक्त गर्नुभयो । उहाँले पार्टीले यस विषयमा गम्भीर रुपमा छलफल गरी सम्बन्धित निकायमा दबाब सिर्जना गर्ने जानकारी दिनुभयो ।
देश तथा विदेशबाट स्वत स्फूर्त रुपमा अभियान मार्फत सकंलन भएको रकम हस्तान्तरण गरिएको सहयोग सकंलन अभियानका संयोजक ज्ञान बहादुर बगालेले जानकारी दिनुभयो । उहाँले सहयोगी सबै प्रति आभार व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेस मुसिकोट वडा नं ४ वडा कार्यसमिति पूर्व सभापति यम बहादुर केसीले पार्टीले विगतमा पनि भैपरि र विपदका बेला विभिन्न अभियान सञ्चालन गरेर सहयोग गर्दै आईरहेको बताउनुभयो । उहाँले आगलागी सुनियोजित रुपमा गरिएको जस्तो देखिएपनि घटनाको विषयमा अनुसन्धान नहुनु निकै दुःखद रहेको भन्दै पार्टीको तर्फबाट सम्बन्धित क्षेत्रमा दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले वडा नं ४ मा पछिल्लो समय भएका श्रृङ्खलाबद्ध आगलागीका घटनाले स्थानीयमा त्रास पैदा भएकोले शान्ति सुरक्षा कायम गर्न प्रशासनलाई आग्रह गर्नुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सहसचिव सुस्मा सापकोटा तिवारी, नेपाल तरुण दल केन्द्रिय विभाग सदस्य खगेश्वर सापकोटा, नेपाली काँग्रेस मुसिकोट वडा नं २ वडा सदस्य माया खरेल, मुसिकोट माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चिना बहादुर विष्ट, समाजसेवी दान बहादुर बगाले, पूणर् बगाले लगायतको उपस्थिति रहेको थियो ।
नेपाली काँग्रेस मुसिकोट वडा नं ४ वडा सहसचिव महेन्द्र बगालेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन समाजसेवी बाबुराम पौडेलले गर्नुभएको थियो ।
नेपाली कांग्रेस मुसिकोट नगरपालिका-४ का सभापति रहेका गुप्तबहादुर कार्कीको घरमा गत शनिबार राति करिब १२ बजे आगलागी भएको थियो । कार्कीकी छोरी कुसुम चिच्याएपछि मात्र घरका अन्य परिवारले आगलागी भएको जानकारी पाएका थिए । आगलागीबाट करिब २२ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । आगलागीबाट खाद्यान्न, कपडा, केही चाँदी, भाँडाकुँडा र घरमा रहेको टेलिभिजनलगायतका सबै सामाग्री जलेर नष्ट भएको पीडित कार्कीले बताए ।
आगलागीको प्रकृति हेर्दा कसैले लगाएको हुन सक्ने अनुमान गरिए पनि अनुसन्धान भने भएको छैन् । केही दिनअघि कार्कीको घरदेखि २ किलोमिटर नजिकै बडागाउँको स्वास्थ्य चौकीको एम्बुलेन्समा आगलागी भएको थियोे । एम्बुलेन्स र घरमा लगातार आगलागी हुनुले सुनियोजित तवरले आगलागी भएको भनिए पनि दोषी पत्ता लाग्न सकेको छैन ।