गुल्मी । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि निर्वाचनमा होमिने दलहरु यतिबेला उम्मेदवार चयनको प्रक्रियामा लागेका छन् । गुल्मीको मुसिकोट नगरपालिकामा रहेका राजनैतिक दलहरु पनि उम्मेदवार टुगों लगाउने कसरतमा जुटिरहेका छन् ।
सकभर वडा र मेयर तथा उपमेयर तथा अन्य पदाधिकारीहरु सहमतीबाटै चयन गर्ने कसरतमा यहाँका दलहरु छन् । यसबीच नेपाली काँग्रेसले १ वटा वडा र नेकपा एमालेले २ वटा वडामा सर्वसम्मत वडाध्यक्षको उम्मेदवार चयन गरेको छ ।
अघिल्लो पटक नेकपा एमालेले जित हासिल गरेको वडा नं ९ मा वडाध्यक्ष पदमा नेपाली काँग्रेसले भुमा गुरुङलाई सर्वसम्मत उम्मेदवारको रुपमा चयन गरेको छ । भने वडा सदस्यमा बोम बहादुर खत्रीलाई चयन गरेको छ । सोही वडामा नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदमा रामकृष्ण कडेंल सर्वसम्मत उम्मेदवार चयन हुनुभएको छ ।
अन्य वडा सदस्यहरु भने पछि चयन गर्ने दुबै पार्टीहरुले जनाएका छन् । यता अघिल्लो पटकको स्थानीय निर्वाचनमा जित हासिल गरेको नेकपा एमालेले वडा नं ३ मा शकंर रायमाझीलाई वडाध्यक्ष पदको उम्मेदवारको रुपमा सर्वसम्मत चयन गरेको छ । रायमाझी हाल वडा सदस्य समेत रहेका छन् ।
दुबै दलहरु अन्य वडामा पनि सर्वसम्मत उम्मेदवार चयन गर्ने प्रक्रियामा लागेका छन् । त्यस्तै मेयर र उपमेयर पदमा आकाक्षीं धेरै भएकाले दुबै दलले उम्मेदवार चयन गर्न अहिलेसम्म नसकेपनि सर्वसम्मत नै उम्मेदवारको टुगों लगाउने कसरत गरिरहेको बताईएको छ ।