सागर भण्डारी,गुल्मी । समाजसेवी हरिनारायण सापकोटाले विपन्न २ विद्यार्थीको निशुल्क अध्ययनको व्यवस्था गर्नुभएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ८ कुसनचौरका २ बालबालिकाको अध्ययन खर्च बहोर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको हो ।
बुधबार बालबालिकाको घरमै पुगेर समाजसेवी सापकोटाले आर्थिक अवस्था कमजोर भएका कारण आफ्ना बालबच्चालाई पढाउन समेत मुस्किल भएको भनेर उनीहरुकी आमा कुमारी वि.कले गुनासो गरेपछि निशुल्क अध्ययनको व्यवस्था मिलाएको बताउनुभयो ।
कक्षा ९ र बालकक्षामा पढ्ने दुई बालबालिकाको कपि कलम, स्कुल डे्रस, जुत्ता, अन्य शुल्क अहिलेलाई एक वर्षका लागि तिर्ने र उनीहरुले राम्रोसगं अध्ययन गरेमा कक्षा १२ सम्मै पढ्ने व्यवस्था मिलाउने गरी केही सघंसंस्थामा पहल गर्ने नभए आफै व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
आफ्ना छोराहरुलाई निशुल्क अध्ययनको व्यवस्था मिलाएको भन्दै आमा कुमारी बि.कले समाजसेवी सापकोटालाई धन्यवाद दिनुभयो । उहाँले आफुलाई आर्थिक अभावकै कारण छोराहरुले पढ्न पाउँदैनन् की भन्ने पिरलो लागिरहने र अब खुसी लागेको बताउनुभयो ।
उक्त परिवारमा कुमारी आफैले दैनिक ज्यालामजदुरी गरेर परिवारको लालनपोषण एवम् घर व्यवहार सम्हाल्दै आउनुभएको छ । उहाँका श्रीमान ९ बर्षदेखि मुटु र मृगौला सम्बन्धी रोगका कारण विस्तारामै थलिनुभएको छ । घरमा कमाएर ल्याउने मान्छेनै विस्तारामा थला परेपछि कुमारी आफैले मजदुरी गरेर परिवारको गुजारा चलाईरहनुभएको छ । वृद्ध अवस्थाका सासु ससुरा र छोराहरु तथा विरामी श्रीमानको साथमा उहाँले अभावको जीवन बिताईरहनुभएको छ ।