बुबासगं हारेकी गण्डकीले यसपटक छोरालाई जितिन् : बनिन् बागलुङकै पहिलो महिला अध्यक्ष

बुबासगं हारेकी गण्डकीले यसपटक छोरालाई जितिन् : बनिन् बागलुङकै पहिलो महिला अध्यक्ष

Badigad Online
3 Min Read

सागर भण्डारी बडिगाड,बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी गण्डकी थापा निर्वाचित भएकी छिन् ।

पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा पालिका प्रमुखमा निर्वाचित हुने जिल्लाकै पहिलो महिला हुन् ।

तर उनको विजय रोचक लाग्छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेका मेहरसिंह पाइजासँग पराजित भएकी थापाले यसपटक पाइजाकै छोरा राजनकुमार पाइजालाई हराइन् ।

अध्यक्षमा निर्वाचित थापाले ७ हजार २७३ मत प्राप्त गर्दा राजनकुमारले ५ हजार ७ सय मत ल्याए । अघिल्लो निर्वाचनमा ५९२ मत अन्तरले मेहरसिंहसँग हार व्यहोरेकी उनले यो पटक उनका छोरा राजनकुमारलाई १ हजार ५७३ मत अन्तरले पराजित गरेकी छन् ।

गाउँपालिका उपाध्यक्षमा भने राष्ट्रिय जनमोर्चाका भीमसेन वन विजयी भएका छन् । वनले ७ हजार १०३ मत प्राप्त गर्दा एमालेकी मीनकुमारी रायमाझीले ५ हजार ७२७ मत ल्याइन् ।

को हुन् गाउँपालिका अध्यक्ष पदमा निर्वाचित थापा ?

गुल्मीको चन्द्रकोट गाउँपालिका धुँवाखर्कमा वि.स २०३७ सालमा थापाको जन्म भएको हो । सानै देखि सामाजिक र राजनैतिक वातावरणमा हुर्किएकी थापाले २०५४ सालमा शान्तिपुरको उदय उच्च माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेकी हुन् । तत्पश्चात वैवाहिक जीवनमा बाँधिएर बागलुङको बडिगाड गाउँपालिका ७ भिमगिठे आएकी उनले उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङबाट उच्च शिक्षा, निशिभुजी जनता क्याम्पसबाट ब्याचलर र तानसेन बहुमुखी क्याम्पसबाट मास्टर्सको अध्ययन पुरा गरेकी छिन् ।

यसबीचमा अध्यापनमा समेत सक्रिय उनी २०७४ सालमा शिक्षण पेशाको स्थायी जागिर छाडेर गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएकी थिईन् । विद्यार्थीकालबाटै सांस्कृतिक सघं,नेपाल विद्यार्थी सघं लगायतका भातृ संस्थामा आबद्ध रहेर काम गरेकी उनी सानै देखि प्रखर र बौद्धिक थिईन् ।

२०५४ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिएकी उनी नेपाल महिला सघं बागलुङको उपाध्यक्ष भएर २ कार्यकाल काम गरिन् । त्यस्तै नेपाली काँग्रेसको १२ औँ महाधिवेशनबाट पार्टीको जिल्ला सहसचिव, १३ औँ महाधिवेशनमा जिल्ला सदस्य, १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै जिल्ला सचिवको रुपमा हाल कार्यरत रहेकी छिन् ।

२०५४ साल देखि २०६३ पौषसम्म अस्थायी शिक्षण पेशा गर्दै आएकी उनी २०६३ सालदेखि २०७४ सालसम्म स्थायी शिक्षण पेशा गर्दै गर्दा शिक्षण पेशाबाट राजीनामा दिएर २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा उम्मेदवारी दिएकी थिईन् ।

यसबाहेक अधिकारीले विभिन्न सामाजिक क्षेत्रमा तथा संघसंस्थामा पनि आबद्ध रहेर सक्रियता पूर्वक काम गर्दै आईरहेकी छिन् । जिल्लामा हुने विभिन्न बाढी,पहिरो लगायतका प्राकृतिक विपत्तिहरुमा उद्धार तथा राहत वितरण,कोरोना महामारीमा विभिन्न सामाजिक सघंसंस्थाको पहलमा स्वास्थ्य सामाग्री वितरण गर्ने,रेडक्रस मार्फत विभिन्न दैविप्रकोपहरुमा सहयोग गर्ने तथा सडक महिलाहरुलाई उद्धार गर्ने लगायतका काममा उनको निकै नै सक्रियता रहने गरेको छ ।

यसका अलबा उनी नेपाल रेडक्रस सोसाईटीको २ कार्यकाल सहमहामन्त्री,सिवाईसी साकोसको केन्द्रीय उपाध्यक्ष,चारतारे युवा क्लवको सहसचिव,नेपाल शिक्षक युनियनको जिल्ला सदस्य रहेर काम गर्दै आएकी छिन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित