सन्तोष महतरा,गुल्मी । गुल्मीमा करोडौं खर्चिएको हाटबजार बन्द हुँदा कृषक र उपभोक्ता मारमा परेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेको करोडौं खर्चिएको हाटबजार बन्द हुँदा कृषक र उपभोक्ता मारमा परेका हुन् ।
हाटबजार बन्द हुँदा कृषकले आफ्ना कृषि उपजहरु बिक्री गर्नका लागि समस्या खेप्नु परेको तम्घास अर्खलेका अगुवा कृषक कमलप्रसाद आचार्यले गुनासो गरे । “हामीले तरकारी तथा फलफूल बिक्रीका लागि हरेक बिहान तम्घास बजारमा डोको बोकेर हिड्नुपरेको छ” कृषक आचार्यले भने, “बजारमा डुलेर तरकारी र फलफूल बिक्री गर्दा सही मूल्य पाउन सकेका छैनौं ।” बिचौलियाका रुपमा प्रस्तुत हुने व्यापारीले कृषकको उत्पादनलाई सस्तो मूल्यमा खरिद गरेर उपभोक्तालाई महंगोमा बिक्री गरेको आफैंले भोग्नुपरेको कृषक आचार्यले बताए ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खलेका अर्का कृषक ज्ञानबहादुर दर्लामीले पनि हाटबजार बन्द हुँदासास्ती खेप्नुपरेको गुनासो गरे । “हामीले तरकारी क्विन्टलको क्विन्टल उत्पादन गरेर अहिले १०/२० किलोग्राम डोकोमा बोकेर बजार चाहार्नुपरेको छ” कृषक दर्लामीले भने, “हाटबजार सञ्चालनमा हुँदा राहत भएर तरकारी उत्पादन पनि बढाएका थियौं ।” उनले केही वर्षअघि कृषि उपजको बजारीकरणका लागि सही मूल्यमा हाटबजार सुनिश्चत भएपछि तरकारी उत्पादन बढाएको स्मरण गरे । उनले मौसमअनुसारका तरकारी उत्पादन गर्छन् । अहिले दर्लामीको बारीमा बन्दा, गोलभेंडाा, प्याज, भन्टा, तितो करेला, काँक्रो, घिरौला, लौका, सिम्ला मिर्च, खुर्सानी र सानो सिमीलगायतका तरकारी बिक्रीका लागि तयार भएका छन् ।
सोही स्थानका कृषक कमला आचार्यले पनि हाटबजार बन्दले आफूहरुले उत्पादन गरेको तरकारीको बजारीकरणमा समस्या भएको बताइन् । “कुनै समय हाटबजारबाट गाडी हाम्रै घरमा आएर तरकारी र फलफूल सही मूल्यमा किनेर लैजाने गर्दथ्यो” उनले भनिन्, “हाटबजारको सञ्चालनका कारण बढाएको तरकारी खेतीले अहिले आफैंलाई चिन्तित बनाएको छ ।” उनले आफ्नो चाहाना हाटबजार सञ्चालनमा आएर पुरानै अवस्था रहेर तरकारीको खरिद गरिदिनुपर्ने रहेको बताइन् ।
सदरमुकाम नजिकका मात्र नभई तम्घास बजारलाई बजारीकरणको अपेक्षामा राखेर तरकारी तथा फलफूल खेतीको सुरु गरेका कृषकहरु यतिबेला निराश बनेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकाका कृषकहरु पनि हाटबजार बन्दको मारका परेका छन् । त्यस्तै छिमेकी जिल्ला अर्घाखाँचीको मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाका कृषकहरु पनि तम्घासको हाटबजार बन्दले चिन्तित बनेका छन् । हाटबजार बन्दका कारण कृषकहरुको उत्पादन व्यापरीले सस्तोमा खरिद गरेर उपभोक्तालाई महङ्गोमा विक्री गर्दा कृषक र उपभोक्ता दुवै मारमा परेका हुन् । हाटबजार सञ्चालन नहुनाले सदरमुकाम तम्घासका उपभोक्ताहरु बाहिरी बजारमा चर्को मूल्य तिर्न बाध्य छन् ।
झण्डै डेढ करोड रुपैयाँ खर्च गरेर सितभण्डारसहित सञ्चालनमा रहेको हाटबजार अहिले बन्द अवस्थामा छ । हाटबजारमा अहिलेसम्म १ करोड ३३ लाख ५० हजार लगानी गरिएको छ । साविकको जिल्ला कृषि विकास कार्यालयको १४ लाख, साविकको जिल्ला विकास समितिको ८ लाख, जिल्ला पशुसेवा कार्यालय गुल्मीको १० लाख, प्रदेश सरकार र नगरपालिकाको गरेर अहिलेसम्म कूल १ करोड ३३ लाख ५० हजार लगानी भएको नगरपालिकाले जनाएको छ । सितभण्डारसहित सञ्चालन गरिएको हाटबजार यसअघि पनि पटकपटक बन्द हुँदै सञ्चालनमा आएको थियो । यसअघि कारोना भाइरसको कारण देखाएर बन्द गरिएको हाटबजार रेसुङ्गा नगरपालिकाले अहिलेसम्म पनि सञ्चालनमा ल्याउन सकेको छैन ।
नगरपालिकाले यसअघि आफ्ना कर्मचारीलाई खटाएर हाटबजार सञ्चालन गरेको थियो । नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले कर्मचारी खटाएर हाटबजार सञ्चालन गर्न नसकिने बताए । “कर्मचारी खटाएर नसकेका कारण लिजमा दिएर सञ्चालनमा ल्याउने तयारी गरेका छौं” उनले भने, “कृषकले उत्पादन गरेका कृषि उपजलाई सहज रुपमा बिक्री वितरण गर्नका लागि उचित प्रवन्ध गर्नेछौं ।” तरकारीलगायत कृषकका अन्य कृषि उपज बजारीकरणको ग्यारेण्टी हुने गरेर अगाडि बढ्ने उनको भनाइ छ ।