बडिगाड खोलामा २४.६ मेगावाटको जलविद्युत परियोजना बन्ने

बडिगाड खोलामा २४.६ मेगावाटको जलविद्युत परियोजना बन्ने

Badigad Online
2 Min Read

बागलुङ । बडिगाड खोलामा २४.६ मेगावाटको जलविद्युत परियोजना बन्ने भएको छ । लमजुङको दोर्दी-ए लिवर्टी इनर्जी कम्पनी लिमिटेडले २४.६ मेगावाटको बडिगाड जलविद्युत आयोजना निर्माण गर्ने भएको हो ।

आयोजनाको अध्ययन पूरा भएकाले उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमति दिने ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवर्द्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग रायरसुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी रायरसुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ ।

गण्डकी प्रदेशको बागलुङ जिल्ला र लुम्बिनी प्रदेशको गुल्मी जिल्ला भएर बग्ने बडिगाड खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको लिवर्टी इनर्जी कम्पनीका संचालक राजेन्द्र वस्तीले बताए ।

उनका अनुसार आयोजनाको मुख्य संरचना बडिगाड खोलाको बायाँ किनारामा पर्दछ । खालामा बाँध बाँधी खोलाको बायाँपट्टिबाट निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको ६.९८ किलोमिटर हेडरेस सुरुङ हुँदै ३७६ मिटर पेनस्टक पाइपमार्फत विद्युतगृहमा पुराइनेछ ।

विद्युतगृहमा जडान भएको ३ वटा टर्वाइनसँग जोडिएको जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ । आयोजनाको सबै काम पूरा गरेर २०८४ साल भदौभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

आयोजनाबाट वार्षिक १४५.७३४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत ८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको बुर्तिवाङ सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । नयाँ पत्रिकाले समाचार लेखेको छ । तस्बिर : साकेंतिक

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित