बागलुङ : धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि सार्वजनिक शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । बागलुङ जिल्ला केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले आइपिओ निष्काशनका लागि सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
हाल उक्त कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेकोमा सार्वजनिक शेयर निश्कासन पश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल ७ करोड पूँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा रु ११ करोड रहेको छ । जसबाट प्रतिशेयर नेटवर्थ २५७ रुपैयाँ हुन आउँछ ।
कम्पनीको सञ्चित नाफा नोक्सानी समेत ४.६ करोड भन्दा माथि रहेकोले सार्वजनिक शेयर निष्कासन पश्चात् समेत शेयरधनीहरूको लागि ४० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।
हाल राष्ट्रियस्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ । जसबाट करिब ३६ हजार ग्राहक सदस्यहरूमार्फत कुल १४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ ।
आ.ब. २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरण बमोजिम उक्त कम्पनीको पैसा प्रतिशेयर आम्दानी ३७.२५ पैसा रहेको छ ।