बागलुङ। बागलुङको बडिगाड गाउँपालिकाले विद्यार्थीको स्वास्थ्यमाथि गम्भीर लापरबाही गरेको पाइएको छ । एक साताअघि पालिकाले मातहतका विद्यालयहरूमा सात महिनाअघि म्याद गुज्रेका औषधि पठाएर विद्यार्थीको स्वास्थ्यमाथि गम्भीर लापरबाही गरेको तथ्य खुलेको हो । बडिगाड अनलाइनलाई प्राप्त तस्बिर र जानकारी अनुसार पालिकाले विद्यालयहरूमा वितरण गरेको औषधिको मे २०२३ मै म्याद गुज्रिएका छन् । अहिले जनवरी २०२४ हो ।
१० देखि १९ वर्षका किशोरीहरूका लागि गाउँपालिकाको स्वास्थ्य शाखामार्फत निःशुल्क रूपमा हेम्फेरन–एस नामक आइरन चक्की वितरण हुँदै आएको छ । पालिकाले पठाएको औषधि विद्यालयका शिक्षकहरूले पनि म्याद नै नहेरी वितरण गरेका थिए । त्यस्तो औषधि सेवनबाट केही किशोरीहरूमा वाकवाकी र रिङ्गटा लाग्ने स्वास्थ्य समस्या देखिएको एक विद्यालयका प्रधानाध्यापकले बताए । ती प्रध्यानाध्यपकका अनुसार पालिकाले मंसिरको अन्तिम साता विद्यालयमा पठाएको थियो ।
उनका अनुसार किशोरीलाई दुई पटक औषधि वितरण भइसकेपछि बुधबार पालिकाबाट म्याद हेर्नुस् है भन्दै फोन आएको थियो । ‘किशोरीका लागि खुवाउन भन्दै पालिकाबाट मंसिरमा आइरनचक्की आएको थियो, हामीले पनि मिति नहेरी छात्राहरूलाई दियौँं,’ उनले भने, ‘बुधबार पालिकाबाट पो म्याद हेर्नुहोस् है भनेर फोन आयो ।’ महिनावारी हुने उमेर समूहका किशोरीहरुलाई रगतको मात्र बढाउन सरकारले आइरन चक्की निःशुल्क वितरण गर्दै आइरहेको छ ।
विद्यालयमार्फत पालिकाले वितरण गरेको औषधिको सेवनबाट स्वास्थ्य समस्या देखिएपछि अभिभावकहरू आक्रोशित भएको ती प्रधानाध्यापकले बताए । ‘अहिले अभिभावकहरू आक्रोशित भएर विद्यालयमा आउनुभएको छ,’ उनले थपे, ‘हामीलाई सम्झाएर पठाउनै हम्मेहम्मे भइरहेको छ ।’
के छ कानुनी व्यवस्था?
नेपाल औषधि ऐन, २०३५ ले ऐनको परिच्छेद ७ विविध अन्तर्गत म्याद गुज्रिएका औषधिको बिक्री वा वितरण गर्न नहुने भनी उल्लेख गरेको छ। ऐन विपरीत कार्य गर्ने व्यक्तिलाई ऐनले तीन वर्षम्म कैद वा २५ हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने भनी उल्लेख गरिएको छ। म्याद गुज्रिएको औषधि सेवन गरेको कारणले शरीरको कुनै अङ्गभङ्ग भएमा ऐनले १० वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिवानाको व्यवस्था समेत गरेको छ। यसरी हेर्दा गाउँपालिका प्रमुखदेखि स्वास्थ्य शाखा प्रमुखसम्म कारबाहीको दायरमा आउने देखिन्छ ।
के भन्छ पालिका ?
म्याद गुज्रिएको औषधि विद्यालयमा वितरण भएकोबारे जिज्ञासा राख्दा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख बिपेन्द्रप्रताप केसीले अनविज्ञता प्रकट गरे । उनले यस विषयमा शाखामा कुनै पनि जानकारी नआएको दाबी गरे । ‘किशोरीका लागि निःशुल्क वितरण हुने आइरनचक्की हामीले स्वास्थ्य शाखामार्फत पठाउँछौं,’ उनले भने, ‘म्याद सकिएकोे बारेमा हामीलाई जानकारी आएको छैन ।’ मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकमा पनि यस विषयमा वडाध्यक्षहरूले कुरा उठाएका थिए ।
तर, पालिका प्रमुख, उप–प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसमेत चुइँक्क पनि बोलेनन् । कार्यपालिका बैठकमा नबोलेपछि बुधबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीसँग यसबारे जवाफ माग्दा जानकारी नभएको बताए । ‘स्वास्थ्य जस्तो संवेदनशील विषयमा म्याद गुज्रिएका औषधि पठाउन मिल्छ?’ भन्ने प्रश्नमा भण्डारीले भने, ‘यो स्वास्थ्य शाखाको कुरा हो, अहिले टेन्डरमार्फत पालिकामा प्रर्याप्त औषधिहरू छन्। त्यो विषयमा जानकारी भएन।’ गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीसँग यस विषयमा बुझ्न खोज्दा आफूलाई जानकारी नभएको भन्दै उनी पत्रकारमाथि नै खनिइन् । यद्यपि उनले पालिकाबाट गल्ती भएको भने अप्रत्यक्ष रूपमा स्वीकार्दै भनिन्, ‘राम्रो कुरा नदेख्ने पत्रकारले नराम्रो चैँ कति छिट्टै देख्छन् ।’