कांग्रेसको भवन बनाउन पालिकाको १५ लाख: गठबन्धनका नेता भन्छन् – हामीलाई ‘इमोशनल ब्ल्याक मेल गरियो

कांग्रेसको भवन बनाउन पालिकाको १५ लाख: गठबन्धनका नेता भन्छन् – हामीलाई ‘इमोशनल ब्ल्याक मेल गरियो

Badigad Online
2 Min Read

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले वीपी स्मृति भवन (कांग्रेसको पार्टी भवन) निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गरेर पालिकामा करोडौंको बजेट भित्र्याउने दाबी गरेकी छन् ।

मंगलबार गाउँपालिकामा बसेको सर्वदलीय बैठकमा उनले बागलुङमा बन्दै गरेको वीपी स्मृति भवनलाई १५ लाख रुपैयाँ विनियोजन गरेर पालिकामा करोडौंको बजेट भित्र्याउने दाबी गरेकी हुन् ।

कांग्रेस बागलुङकी सचिवसमेत रहेकी अध्यक्ष थापाले १५ लाख बजेट विनियोजन गरेको विषयमा विवाद नगर्न आग्रह गरिन् । ‘वीपी स्मृति भवनलाई १५ लाख छुट्याएर गाउँपालिकाभित्र करौडौं बजेट आउँछ भने तपाईहरूले विरोध नगरिदिनुहोस्,’ बैठकमा उनले भनिन् ।

पुस १७ गते बसेको कार्यापालिका बैठकमा गाउँपालिका अध्यक्ष थापाले वीपी स्मृति भवन निर्माणका लागि १५ लाख रुपैयाँ दिने प्रस्ताव गरेकी थिइन् ।‘हामीले गाउँपालिकाको बजेट कांग्रेसको पार्टीे भवन निर्माणका लागि छुट्याउँदा जनतामा नराम्रो सन्देश गएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘भोलि अर्को कुनै पार्टीले बजेट माग्ला ? त्यसबेला के गर्ने ?’

गाउँपालिका अध्यक्ष थापाले कांग्रेसको पार्टी भवनका लागि बजेट विनियोजन गरेपछि पालिकामा करोडौं बजेट ल्याउँछु भन्दै आफूहरूलाई ‘इमोशनल ब्ल्याक मेल’ गरेको गठबन्धनकै एक नेताले आरोप लगाए । ‘पार्टीको भवन निर्माणका लागि बजेट हालेर पालिकामा करोडौं बजेट ल्याउँछु भन्दै अध्यक्षज्यूले भन्नुभयो,’ ती नेताले भने, ‘त्यस विषयमा कुरा राख्दा अहिले माघ १४ गतेको मिसनमा लागौं अर्को बैठकमा छलफल गरौंला भनेपछि हामी उठ्यौं ।’

पालिकाले वीपी स्मृति भवनका लागि छुट्याएको बजेट नसच्चाए आन्दोलन गर्ने ती नेताले चेतावनी दिए । पालिका अध्यक्ष थापाले कांग्रेसको वीपी स्मृति भवन निर्माणका लागि बजेट विनियोजन भएपछि जलजला र रणसिंहकिटेनीमा बजेट पार्न सफल भएको समेत दाबी गरेकी छन् ।

सर्वदलीय बैठकमा माघ १४ गते गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनको व्यवस्थापनका विषयमा समेत छलफल भएको थियो । बैठकले कार्यक्रम व्यवस्थापनका लागि नेकपा एमाले जिल्ला सचिव विष्णु भुषालको संयोजकत्वमा समिति गठन गरेको छ । जसमा नेकपा एमालेबाट भुषालसहित दुई जना, कांग्रेसबाट दुई, नेकपा माओवादीबाट दुई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चाबाट दुई जनालाई समितिमा राखिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित