बागलुङ। बागलुङको बडिगाड गाँउपालिकाले बागलुङ बजारमा बन्दै गरेको नेपाली कांग्रेसको पार्टी कार्यालय (वीपी स्मृति भवन) को लागि विनियोजन गरेको रकम तीन दिन भित्र फिर्ता गर्न चार राजनीतिक दलहरुले माग गरेका छन् ।
बडिगाडका क्रियाशिल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी तथा नेकपा एकिकृत समाजवादीले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै बडिगाड गाँउपालिकाको १० औं गाँउसभाबाट विनियोजित १५ लाख रूपैयाँ रकम तत्काल फिर्ता गर्न माग गरेका हुन् । गत पुस १७ गते बसेको कार्यापालिका बैठक र १८ गतेकाे गाउँसभाले विपी स्मृति भवन निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
विज्ञप्तिमा भनिएको छ- ‘नागरिकका आधारभूत आवश्यकता परिपूर्ति गर्नुभन्दा राजनितिक स्वार्थमा केन्द्रीत भएर पार्टीको भवन निमार्णका लागि बजेट विनियोजन गर्नका लागि प्रस्ताव गर्ने गाँउपालिका अध्यक्ष, गैरकानुनी कार्यलाई सघाउने प्रशासकीय अधिकृत र त्यस प्रस्तावको सर्मथन गर्ने जनप्रतिनिधीहरुको जनविरोधी क्रियाकलापप्रति हामी खेद प्रकट गर्दछौँ ।’
जनविरोध, जनघाती, विकास विरोधी र राजनितिककरणको दुर्गन्ध फैलिने गरी गरिएको बजेट विनियोजनको निर्णय तत्काल तीन दिनभित्र फिर्ता लिएर आम नागरिकको आधारभुत आवश्यकतामा प्रगोग गर्न आग्रह गर्दै निर्णय फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम गर्ने बताएका छन् ।