राम प्रसाद घिमिरे, बागलुङ : जिसी परिवारलाई १ लाख सहयोग प्रदान राम प्रसाद घिमिरे बागलुङ पाल्पामा भएको सवारी दुर्घटनामा परेको जिसी परिवारलाई प्रवासमा रहेका युवाहरूको समुहले सहयोग रकम हस्तान्तरण गरेको छ । बागलुङको बडिगाड गाउँपालिका-५ दाँगमा जन्मिएर रोजगारी तथा अध्ययनको शिलशिलामा जापानमा रहेका युवाहरूको एकतामा गठित श्री थानापाति दाँग जापान सम्पर्क समितिले जिसी परिवारलाई १ लाख राहत रकम सहयोग गरेको हो ।
फाल्गुन १ गते पाल्पाको तिनाउ गाउँपालिकामा भएको जिप दुर्घटनामा परि जिसी परिवारका १ जनाको मृत्यु भएको हो भने २ छोराहरू घाइते भएका छन । दुर्घटनामा बागलुङको जिल्लाको बडिगाड गाउँपालिका-५ दाँग स्थायी घरभई हाल रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नम्बर-५ बस्ने रामु जिसीकी धर्मपत्नी २९ वर्षीय दिलमाया जिसीको घटनास्थलमै मृत्यु भएको थियो भने उहाँका २ छोराहरु वर्ष ९ को विवेक जिसी र वर्ष ६ को अस्मित जिसी गम्भीर घाइते भई पाल्पा स्थिति लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनामा घाइते भई उपचारत रहेका बालकहरुको उपचारमा सहयोग होस् भन्ने हेतुले सहयोग गरिएको श्री थानापति दाँग जापान सम्पर्क समितिका अध्यक्ष बाबुराम घिमिरेले बताउनुभयो । आर्थिक रुपमा न्युन अवस्थामा रहेको जिसी परिवारमा परेको यो कहालिलाग्दो दुर्घटनामा थोरै भएपनी मलम लगाउने उद्देश्यले सहयोग गरिएको समितिका संस्थापक अध्यक्ष इश्वरि प्रसाद घिमिरेले बताउनुभयो । “यो हृदयविदारक घटनामा परेको परिवारलाई सबैले आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्न समेत घिमिरेले अनुरोध गर्नुभएको छ ।
यस घटनामा परि घाइते भएका दुबैजना बाबुहरुको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सहयोग पुगोस् भन्दै यस समितिको तर्फबाट रु १ लाख सहयोग गरिएको छ । यो सहयोग रकम पिडित परिवारका सदस्य रामु जिसीको नाममा पठाइएको समितिका कोषाध्यक्ष चेतन घिमिरेले बताउनुभयो । समितिले विभिन्न समयमा समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आइरहेको छ ।