चलचित्र ‘प्रेमगीत-३’को अपार सफलता निर्माता सन्तोष सेनको निर्देशनमा बन्न लागेको अर्को फिल्म ‘बलिदान’बाट अभिनेता विराज भट्टका छोरा समीर भट्टले डेब्यु गर्ने भएका छन् । शुक्रबार निर्माण कम्पनी आसुसेन फिल्मसले भट्टको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनको अभिनय रहने पुष्टि गरेको हो । पूर्ण एक्सन प्रधान रहने फिल्मको बजेट ४ करोड अनुमान गरिएको छ ।
सार्वजनिक गरिएको पोस्टरमा समीर हिंसात्मक अवतारमा देखिएका छन् । यो भन्दा अघि चलचित्रको टिजर सार्वजनिक गरिएको थियो जसमा समीरलाई रिभिल गरिएको थिएन। समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य तथा द्वन्द्वको तालिम गरिरहेका थिए ।
निर्देशक सेनका अनुसार फिल्मको पात्रका लागि एक्सन, इमोसन, लुक्स र डाइलग चारै कलामा निपूर्ण कलाकार चाहिएकाले समीरलाइ फिल्ममा अनुबन्धित गरिएको हो। देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर फिल्म बन्ने सेनको भनाई छ । उनले फिल्मलाई एक सार्वभौम महाकथा भनेका छन् । आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्ममा निर्माताको रुपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह-निर्माता प्रेम पुरी छन् ।
पिता (विराज भट्ट)को निर्देशनमा बन्न लागेको फिल्म ‘१२ गाउँ’बाट डेब्यू गर्ने तयारीमा थिए समीर तर, अब उनको डेब्यू ‘बलिदान’बाट हुने भएको छ । ‘बलिदान’मा अभिनेताद्वय सौगात मल्ल र अर्पण थापाको पनि मुख्य भूमिका रहनेछ । आगामी बैशाखपछि छायांकन सुरु गरेर दशैंको फूलपातीमा फिल्मलाई रिलिज गरिँदैछ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा लेखक दर्शन जीको लेखन रहेको फिल्मको ‘स्क्रिप्ट डक्टर’ मनोज पण्डित हुन् ।