एक सातामै हाकिमकाे सरूवा भएपछि निसिखोला पालिकामा ताला

एक सातामै हाकिमकाे सरूवा भएपछि निसिखोला पालिकामा ताला

Badigad Online
4 Min Read

विमल खड्का, काठमाडौं । एक सातामै प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि निसीखोला गाउँपालिकामा नेकपा एमालेले तालाबन्दी गरेको छ । प्रमुख प्रशासकीय अधिृकतको सरुवाको विषयलाई लिएर एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिकाका तालाबन्दी गरेको हो ।

गत साता हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरको एक साता नबित्दै सरुवा भउको थियो । गत वैशाख १२ गते प्रमुख प्रशासकीय अधिकृतको रूपमा पालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृतको एक सातामै सरुवा भएपछि आन्दोलनस्वरूप पालिकामा तालाबन्दी गरिएको एमाले निसीखोलाका इन्चार्ज रुद्रप्रसाद पौडेलले जानकारी दिए ।

‘यस विषयमा निसीखोला गाउँपालिकालाई तीन पटक ध्यानाकर्षण गराएका थियौं, उनले भने, ‘त्यसको सुनुवाइ भएन । हाम्रो माग भनेको अहिले आएका प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुन भएन भन्ने थियो । उहाँको थमौती हुनपर्यो भन्ने थियो ।’ समान्य प्रशासन मन्त्रालयले पठाएको प्रशासकीय अधिकृतको बारम्बार फिर्ता र सरुवा हुँदा निमित्तको भरमा पालिका चलेको उनको भनाइ छ ।

‘अहिले हाम्रो माग भनेको प्रशासकीय अधिकृत फिर्ता किन पठाइयो भन्ने हो,’ उनले भने, पालिका निमित्तको भरमा हुँदा जनताको अपेक्षा अनुसार काम हुन सकेको छैन ।’  गाउँपालिका अध्यक्षसँग वार्ता र आफ्ना मागहरू पूरा नहुँदासम्म ताला नखोल्ने बताए ।

‘हाम्रा मागमा गाउँपालिका उदासीन देखिएको कारणले गर्दा हामीले तालाबन्दी गरेका हौं,’ उनले भने, ‘अहिले पनि सुनुवाई भएन भने हामीले आन्दोलनलाई थप चर्काउँछौं । हाम्रो अनिश्चत आन्दोलन हो । आन्दोलन थप चर्काउँछौं । पटक पटक हामीले ध्यानाकर्षण गराएका थियौं सुनुवाई नभएपछि हामीले तालाबन्दी गरेका हौं ।’

ताला फोड्ने प्रशासनको तयारी
दैनिक कामकाज हुने सरकारी कार्यालयमा तालाबन्दी गरिनु अपराध भएको जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक सिडिओ चित्राङ्गत बरालले बताए ।  ‘प्रशासकीय अधिकृतको सरुवा मन्त्रालयले गर्ने हो, पालिकाले होइन उहाँहरू मन्त्रालय जानुपर्नेमा पालिकामा ताला लगाएर बस्नुभएको छ । आज सहमति नभए ताला फाेड्छौं,’उनले भने ।

जनतालाई प्रदान हुने सेवा अवरुद्ध पारे मुलुक अपराध संहिताअनुसार कारबाही अगाडि बढाउने बताए । सरकारी सेवा अवरुद्ध पारेमा मुलुककी अपराध संहिता २०७४ अनुसार कारबाही गरिने उनले जनाए ।

सरूवा रद्द गर्न गाउँपालिका अध्यक्ष सिंहदरबारमा

प्रमुख प्रशासकीय अधिकृतको सरुवा रद्द गर्न गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्तीमगर सिंहदरबारमा धाउन थालेका छन् । नेपाली कांग्रेका जिल्ला सभापति एवम् प्रदेश सांसद जितबहादुर शेरचन, प्रदेश सांसद दोर्ण कुँवर, कांग्रेसका नेता टेकबहादुर पौडेललाई लिएर अध्यक्ष घर्ती मन्त्रालय धाइरहेका छन् ।
‘मन्त्रालयले प्रशासकीय अधिकृतको सरुवा गरिदिएपछि त्यसलाई रद्द गराउन आफू मन्त्रालयमा आएको उनले न्युजखरीलाई बताए । मन्त्रालयले कर्मचारी पठाउँदा आफूसँग समन्वय नगरी पठाउँदा यसअघि फिर्ता भएको कुरा स्वीकार गरे ।

‘म निर्वाचित भइसकेपछि कर्मचारी पठाउँदा मन्त्रालयले र प्रशासकीय अधिकृतले मसँग समन्वय नगर्दा फिर्ता भएको हो । यो पटक प्रशासकीय अधिकृतले समन्वय गर्नुभएको थियो,’ उनले भने ।

सरूवा रद्द गर्न सिंहदबार धाइरहेका घर्ती आज पनि संघीय सांसद देविप्रकाश भट्टचनलाई लिएर मन्त्रालय गएका थिए । मन्त्रालयका एक कर्मचारीले गाउँपालिकाको विषयमा छलफल भएको र हालसम्म कुनै पनि निर्णय नभएको बताए ।

गाउँपालिकामा तालाबन्दी गर्नेहरूसँग वार्ता भइरहेकाे बताउँदै आइतबार बिहान वार्ता गर्ने उनले बताए । ‘तालाबन्दी गर्ने साथीहरूसँग हिजो फोनमा कुराकानी भएको थियो,’ उनले भने, ‘कमिकमजोरी भएको भए अनुसन्धान गरौंला कार्यालय बन्द नगर्नुस् भनेको छु ।’

उनले शनिबार काठमाडौंबाट गाउँपालिका फर्किएर वार्ता गर्ने बताए । यता, गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगर पनि काठमाडौंमा रहेकाे पाइएकाे छ । उपाध्यक्ष घर्ती गाउँपालिकाको कामले नभइ उपचारका लागि काठमाडौंमा आएको उनले बताए । ‘म पालिकाको कामले काठमाडौं आएको होइन, मेरो उपचारका लागि आएको हुँ । पालिकामा तालाबन्दी भएको कुरा जानकारी पाएको छु । तालाबन्दी खोल्ने विषयमा छलफल भएको छ,’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृतकाे सरूवा भएकाे पत्र

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित