यसरी भाग्यले बच्न सफल भएका थिए क्याप्टेन मनिष

यसरी भाग्यले बच्न सफल भएका थिए क्याप्टेन मनिष

Badigad Online
2 Min Read

अठार जनाको ज्यान गएको सौर्य एअरलाइन्स विमान दुर्घटनामा एक जना मात्रै बाँच्न सफल भए। उनी थिए क्याप्टेन मनीषरत्न शाक्य।

क्याप्टेन शाक्यको विमानस्थलभन्दा केही सय मिटरको दूरीमा रहेको सिनामङ्गलस्थित काठमाण्डू मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

बुधवार अपराह्न शल्यक्रियाका लागि शल्यक्रिया गर्ने कक्षमा लैजाने क्रममा शाक्यले आफ्नो अवस्थाबारे बुझ्न भेला भएका आफन्त र शुभेच्छुकलाई हात उठाएर आफू ठिकै भएको सन्देश दिए।

स्वास्थ्यकर्मीले गुडाउन मिल्ने शय्यामा शल्यक्रिया कक्षतर्फ बढाउँदै गर्दा शाक्यले दाहिने हात उठाएर अभिवादन गरे।“अल गुड (सबै ठिक छ)?” भनेर आफन्तले टाढैबाट उनको अवस्थाबारे चासो राख्दा शाक्यले हात उठाउँदै भने, “एस, एस (हो, ठिक छु)।”

दुर्घटनास्थलबाट उनलाई सुरक्षाकर्मीहरूले उद्धार गर्दै गरेको तस्बिर नेपाल प्रहरीले सार्वजनिक गरेको हो। उक्त तस्बिरमा उनको अनुहार रगतपच्छे देखिन्छ। होसमै भएका शाक्यलाई सुरक्षाकर्मीले समातेर दुर्घटनास्थलबाट निकाल्दै गरेको देखिन्छ।

कहाँ र कस्तो अवस्थामा थिए विमानचालक?

विमानका कोपाइलट सुशान्त कटुवालसहित उक्त विमानमा सवार बाँकी सबैको मृत्यु भएको छ। तर, क्याप्टेन शाक्य भने भाग्यले बाचेका छन्।

विमानको एउटा टुक्रा धावनमार्गबाहिर उत्तरपूर्वी भागस्थित एउटा खाली ठाउँमा राखिएको एउटा कन्टेनरमा बज्रिएको थियो।

क्याप्टेन शाक्यलाई विमानको ककपिट भएको भाग ठोकिएको कन्टेनरनजिकै उद्धार गरिएको नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक डम्बर विश्वकर्माले बताए।

“उहाँ ककपिटको एअरशील्ड खुलेको हुनाले निसासिँदै हुनुहुँदो रहेछ। हामीले झ्याल फोडेर उहाँलाई तत्काल बाहिर निकाल्यौँ,” उनले भने।उनका अनुसार ककपिटको छेउसम्मै आगो फैलिसकेको अवस्थामा पाइलटको जीवितै उद्धार गरिएको हो।

“उद्धार गर्दा उहाँको अनुहारभरि रगत थियो तर बोल्न सक्ने अवस्थामै हामीले अस्पताल पुर्‍याएका हौँ।”

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित