बडिगाड । बागलुङको बडिगाड गाउँपालिका—७ गाँवका लोकबहादुर केसीले मौरीको मह बेचेर मनग्य आम्दानी गरेका छन् । बैदेशिक रोजगारीका लागि मलेसिया पुगेर नेपाल फर्किएका केसीले मौरीको मह बेचेर वार्षिक ३७ लाख आम्दानी गर्न सफल भएका हुन् ।
‘विदेशी मोह त्यागेर अहिले गाउँमै मौरी पालन गरिरहेको छु,’ केसीले भने, ‘दुई घारबाट सुरु गरिएकोे मौरी अहिले ८५ घार छन् ।’
केसीलाई ५ वर्षअघि बडिगाड गाउँपालिकाले अनुदान स्वरुपमा दुई घार मौरी दिएको थियो । ‘दुई घार मौरीबाट घार फुटाल्दै (स्थान्तरण) ५ वर्षको अवधिमा ८५ घार मौरी छन्,’ उनले भन्छन्, पैसा कमाउनकै लागि विदेशमा जानुभन्दा परिवारसँगै बसेर पनि आम्दानी गर्न सकिन्छ ।’
रोजगारीका लागि विदेश जाने युवाहरूलाई उनले गाउँमै स्वरोजगारमुखी इलम गर्न सुझाव दिन्छन् । यतिबेला उनको घरमा मौरी मात्र नभइ विभिन्न प्रकारका फलफुल पनि लटरम्म छन् ।
‘बिहानका समयमा मौरी चरन गरेर आउने बेला अरिंगालले भेट्यो भने मौरीलाई मारिदिने गर्दछ,’ उनले भने, त्यसैकारण बिहान ५ देखि ८ बजेसम्म मौरीको घोम वरिपरि सुरक्षाका लागि बस्नुपर्छ ।’
केही समयअघिको हावाहुरीले उनको १० वटा मौरीको घार क्षति भयाे । ‘केही समय आएको हुवाहुरीले १० वटा मौरीको घार पूर्ण रुपमा क्षति भयो,’ उनी भन्छन्, ‘गाउँपालिकासँग गएर कुरा गर्दा अहिले १० वटा मौरीको घार उपलब्ध गराएको छ।’
विस्तारै ती घारमा माैरी सार्ने तयारी गरिरहेका छन् ।

मह निकाल्ने सिजन आउँदै गर्दा उनी दैनिक रूपमा मौरीको हेरचाहाका लागि बारीमै बिताउँछन् । ‘अब कात्तिक- मंसिर मौरी काड्ने सिजन सुरू हुँदैछ,’ उनले भने, ‘गत वर्षकाे तुलनामा यस वर्ष बढी उत्पादन हुन्छ ।’
गत वर्ष २५ सय केजी मह बेचेको सुनाउँदै उनले भने – ‘यस वर्ष त्यो भन्दा बढी बेच्ने लक्ष्य राखेकाे छु ।’ बजारमा अहिले मौरीको मह प्रतिकिलो १ हजार ५ सय रुपैयाँमा बिक्री हुँदै आएकाे छ ।
मौरी पालनका लागि कहीँ कतै तालिम नलिएका उनी अहिले भिमगिठे माैरी पालनकाे नाममा फर्म दर्ता गरी व्यवसायीक रूपमै सञ्चालन गरिरहेका छन् । ‘पहिले केही थाहै नभइ सुरू गरियो अहिले मौरी पालनका बारेमा धेरै कुराको ज्ञान भएको छ’, उनी भन्छन् ।
मौरीको महसँगै उनी मौरीको खाली घार, मैन र मौरीको गोला पनि बेच्दै आएका छन् ।