थम्मन थापा, बागलुङ, । क्वारेन्टाएनमा बस्दा मनोसामाजिक असर पर्न सक्ने भन्दै जिल्लाको गलकोट नगरपालिकाका बिभिन्न क्वारेन्टाएनमा रहेकाहरुलाई मनोवैज्ञानिक परामर्श दिन थालिएको छ । गलकोट नगरपालिकाले स्थानीय मनोविज्ञहरुको सहायतामा क्वारेन्टाएनमा रहेकाहरुलाई मनोपरामर्श दिन थालेको हो ।
क्वारेन्टाइनमा रहेका नागरिकमा मनोविज्ञान, सरसफाई, स्वास्थ्य सुरक्षा र सकारात्मक सोचको विकास गरि आत्मबल बढाउन क्वारेन्टाईनमै पुगेर परामर्श दिन थालिएको उपप्रमुख रेणुका काउचाले बताउनुभयो । उनीहरुलाई क्वारेन्टाएनमा रहँदा कुनैपनि समस्या आउन नदिन नगरपालिका सचेत रहेको उहाँको भनाई छ । मनोपरामर्शदाता नितु खड्का र स्वास्थ्यकर्मी शोभा काउचा मगरले क्वारेन्टाईनमा पारमर्शको सहजीकरण गर्नुभएको थियो ।
वडा नं. १ दुदिलाभाटीमा रहेको सरस्वती माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेका रहेका १८ जना, वडा नं. २ नरेठाँटीस्थित स्वास्थ्य चौकी क्वारेन्टाइनमा रहेका १३ जना, वडा नं. ३ हटियास्थित गलकोट बहुमुखी क्याम्पस क्वारेन्टाईनमा रहेका ८ जना र वडा नं. ४ स्थित खरूवा माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेका १४ जनालाई मनोवैज्ञानिक परामर्श दिइएको काउचाले बताउनुभयो ।
उक्त कार्यक्रममा गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी, वडा नं. १ का अध्यक्ष नेत्र बुढाथोकी, ३ का वडा अध्यक्ष वीरगंज भण्डारी, वडासदस्य झहर बहादुर खत्री लगायतले क्वारेन्टाईनमा रहेका युवाहरुलाई ढुक्क भएर बस्न आग्रह गर्नुभएको थियो ।