२७ लाख ज्येष्ठ नागरिकलाई खोप दिने तयारी, को-को पर्छन त मापदण्डमा?

२७ लाख ज्येष्ठ नागरिकलाई खोप दिने तयारी, को-को पर्छन त मापदण्डमा?

Badigad Online
4 Min Read

काठमाडौँ: सरकारले खरिद गरेको १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ। भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरिएको कोभिशिल्ड खोप आइतबार एयर इन्डियाको विमानबाट ल्याइएको हो।

सेरम इन्ष्टिच्युटबाट २० लाख डोज खोप खरिदका लागि सरकारले रकम पठाइसकेको छ । बाँकी १० लाख खोप नेपालले माग गरेको समयमा उपलब्ध गराउने सहमति भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिहं तिकंरी बताउँछन्।

यसअघि भारतले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोपबाटै नेपालमा माघ १४ गतेदेखि खोप अभियान सुरु भएको थियो । अहिले खरिद गरेको थप १० लाख डोज खोप उपलब्ध भएपछि अभियान निरन्तर चल्ने भएको छ र सरकारले समुदायस्तरमै पुगेर नागरिकलाई खोप दिनेछ।

अनुदानमा उपलब्ध खोप सुरुमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शववाहन चालकसहित फ्रन्टलाइनरलाई दिइएको थियो । त्यसपछि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई दिइएको थियो । हाल उक्त खोप बैंक तथा वित्तीय संस्थाका कर्मचारी, नापी विभाग, जिल्ला प्रशासन कार्यालयका कमर्चारीले लगाइरहेका छन् । अनुदानमा प्राप्त १० लाख खोपबाट शनिबार साँझसम्म ४ लाख २ हजार जनाले खोप लगाएका छन्।

अब फागुन २३ गतेदेखि ६० वर्षमाथिका ज्येष्ठ नागरिक, शिक्षक र सार्वजानिक यातायातमा कार्यरत कर्मचारीलाई खोप दिने स्वास्थ्य मन्त्रालयको तयारी छ। मन्त्रिपरिषदको बैठकले ५५ वर्षमाथिका नागरिकलाई दोस्रो चरणमा खोप दिने निर्णय गरेको थियो, मन्त्रालयले ६० वर्षमाथिकालाई मात्र अहिले खोप अभियानमा सहभागी गराउने तयारी गरेको छ । यद्यपि खोपको उपलब्धता हेरेर प्राथमिकता हेरफेर गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल बताउँछन्।

करिब २७ लाख जेष्ठ नागरिकहरुलाई खोप लगाउने मन्त्रालयले योजना बनाएको छ । यो तथ्यांकमा केही घटबढ हुन सक्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी बताउँछन् । ‘सरकारका तथ्याकंमा भएका सबै मानिसले खोप लगाउँछन् भन्ने हुन्न, हामीले अनुमान गरेको २७ लाख हो’ उनले भने।

‘तथ्यांकमा भएका सबै मानिस आउने/नआउने अर्को कुरा तर हाम्रो योजना २७ लाख नागरिकलाई खोप दिने हो’ डा. अधिकारीले भने ।

पहिले अनुदानमा आएको र खरिद गरिएको २० लाख डोज खोप पनि अपुग भए कोभ्याक्समार्फत थप २२ लाख डोज खोप आउने अधिकारीले बताए । ‘ त्यसैले हामी खोप पुग्नेमा ढुक्क छौं’ उनले भने।

कसरी सञ्चालन हुन्छ खोप अभियान?

बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार देशभर रहेका स्वास्थ्य चौकीबाट खोप अभियान सञ्चालन गर्ने तयारी भएको छ। ज्येष्ठ नागरिकले आफ्नो स्थानीय तहकै स्वास्थ्य संस्थाबाट खोप पाउनेछन्। ‘पुरानै संरचना अनुसार खोप वितरण हुन्छ हामी यसपटक स्थानीय तहमै पुगेर खोप अभियान सञ्चालन गर्छौ’ सहप्रवक्ता डा. अधिकारीले भने ।

देशव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न स्थानीय तहका स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी भइसकेको खोप महाशाखा प्रमुख डा. गौतम बताउँछन्।

पहिलो चरणमा जिल्ला अस्पताल र राजधानीको पनि निश्चित स्थानमा मात्र खोप केन्द्र भएका कारण लक्षित समूहका धेरै जना खोपको पहुँचमा आउन नसकेका कारण यो पटक समुदायस्तरमै खोप अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।

कसले लगाउनु हुँदैन खोप?

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना महामारीको जोखिममा वृद्ध वृद्धा र दीर्घरोगीहरु बढी छन् । त्यसैले ६० वर्षमाथि उमेर समूहका सबैले खोप लगाउन मिल्ने खोप महाशाखा प्रमुख डा. गौतम बताउँछन् । ‘रगत पातलो बनाउने औषधि खाएका, संक्रमण भएको ८ हप्ता ननाघेका र खोप/औषधिको गम्भीर एलर्जी हुनेबाहेक अरु सबैले खोप लगाउन मिल्छ’ उनले भने ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित