रुपन्देही । दैनिक भारतीय बजार सुनौली, नौतनवा लगायतकाबाट अवैध सामान आयात बढ्दै गएपछि रुपन्देहीको बेलहिया नाकामा कडाई गरिएको छ ।
अवैध सामान आयात बढ्दै गएपछि सिद्धार्थ उद्योग बाणिज्य संघ र उद्योग ब्यापार संगठन लगायत निजी क्षेत्रका संघसंस्थाले विरोध गर्दै आएका थिए । पछिल्लो समय एक सय रुपैयाँ भन्दा बढीको सामान खरिद गरी नेपाल भित्र्याउँदा भन्सार नाकामा प्रज्ञापनपत्र भर्न अनिवार्य गरिएपछि भारतीय बजारमा खरिदारीका लागि जाने नेपालीहरु पनि घटेका छन् । जसले गर्दा भन्सार राजस्व बृद्धि भइरहेको छ भने रुपन्देहीका बजार विगत भन्दा तुलनात्मकरुपमा चलायमान बनेका छन् ।
विना भन्सार सहजै लाखौं रुपैयाँको सामान भित्र्याउन पाउने भएपछि विगतमा रुपन्देहीको बेलहिया नाका हुँदै भारतीय बजार सुनौली, नौतनवा लगायतका ठाउँमा दैनिक उपभोग्य वस्तु खरिद गर्न जानेको सीमानाकामा लर्को लाग्थ्यो ।
सर्वसाधारणको भीडले नाकामा आउजाउमै समस्या हुन्थ्यो । दैनिक हजारौंको संख्यामा नेपालीहरु सामान खरिदका लागि भारतीय बजार पुग्थे । यसरी भारतबाट खरिद गरेर आउनेहरुले विना भन्सार रुपन्देहीसहित मुलुकका विभिन्न ठाउँमा सामान पुर्याउँथे । यसबाट स्वदेशी व्यापारी आजित थिए भने मुलुकको करोडौं राजश्व गुमिरहेको थियो ।
पछिल्लो पटक भन्सार नाकामा निकै कडाई गरिएको छ । भन्सार कर्मचारीसँगै सशस्त्र र नेपाल प्रहरी खटिएका छन् । उनीहरुले भारतीय बजारमा सामान खरिद गरेर फर्कनेलाई प्रज्ञापन पत्र भर्न र राजश्व तिर्न लगाउने गरेका छन् ।
भारतीय बजार सुनौलीको ९५ प्रतिशत भन्दा धेरै कारोबार नेपाली उपभोक्तामाथि निर्भर छ । एक सय रुपैयाँ भन्दा धेरै मूल्यको कुनै पनि सामान ल्याउँदा भन्सार तिर्नुपर्ने कानुनी प्रावधान छ । तर, व्यवहारिक पक्ष भन्दै यो नियमको कडाइकासाथ कार्यान्वयन भने भएको देखिदैन ।
नाकामा कडाई गरिएपछि विगतका दिनहरुमा भन्दा अहिले भैरहवा भन्सार कार्यालयको राजश्व बृद्धि भएको छ । भैरहवा र यस आसपासमा सानाठूला व्यवसायमा खरिदविक्री निकै बढेको व्यवसायी बताउँछन् । भन्सारमा कडाई हुँदा नेपाली उपभोक्तामा निर्भर सीमा क्षेत्रका भारतीय भारतीय ब्यापारी भने आक्रोसित छन् । उनीहरुले दूताबासमा गुहार गर्नेदेखि नाका बन्द गर्नेसम्मको चेतावनी दिइरहेका छन् । @news24