बडिगाडबासीको स्वास्थ्यमाथि गम्भीर खेलबाड: विद्यालयसँगै समुदायमा समेत भेटियो म्याद सकिएको औषधि (भिडियो)

बडिगाडबासीको स्वास्थ्यमाथि गम्भीर खेलबाड: विद्यालयसँगै समुदायमा समेत भेटियो म्याद सकिएको औषधि (भिडियो)

Badigad Online
3 Min Read

बागलुङको बडिगाड गाउँपालिकाले विद्यालयमा पठाएको म्याद गुज्रेको औषधि अझै फिर्ता गरेको छैन । म्याद सकिएको औषधि फिर्ता प्रक्रिया अझैं सुरु नभएको सम्बन्धित विद्यालयका प्रअहरूले बताएका छन् । म्याद सकिएको औषधि विद्यालयमा पठाएको समाचार बिहीबार बडिगाड अनलाइनले प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि विद्यालयहरूमा पालिकाका कर्मचारीले फोन गरेर चासो राखे पनि औषधि फिर्ता नमागेको उनीहरूको भनाइ छ । ‘म्याद सकिएको औषधिको विषयले बडिगाड गाउँपालिका तरंगित बनाएको छ,’ ती विद्यालयका प्रअले भने, ‘तर, अहिलेसम्म म्याद सकिएको औषधि फिर्ता लगिएको छैन ।’

गाउँपालिकाले म्याद सकिएको औषधि नपठाएको दाबी गरे पनि समुदायमै म्याद सकिएको औषधि वितरण भएको तथ्य फेला परेको थियो । बडिगाड गाउँपालिका–८ रणसिंहकिटेनी स्वास्थ्यचौकीमार्फत समूदायलाई म्याद सकिएको औषधि वितरण भएको पाइएको हो ।

बडिगाड अनलाइनलाई उपलब्ध प्रमाणअनुसार पखलाको मेट्रिज सस्पेन्सन नामक औषधि जुलाई २०२३ मा म्याद सकिएको छ । ब्याच नम्बर १३४१८६ रहेको औषधि म्याद सकिएको ६ महिनापछि वितरण गरेको पाइएको छ । ‘दुई दिनअघि सिटामोटलसहित पखलाको औषधि दिइएको थियो, सिटामोटमा भने म्याद बाँकी छ, पखलाको औषधि ६ महिनाअघि म्याद सकिएको रहेछ,’ ती सेवाग्राहीले भने ।

यस विषयमा स्वास्थ्य शाखा प्रमुख बिपेन्द्रप्रताप केसीसँग बुझ्न खोज्दा उनी उपलब्ध हुन सकेनन् । उनले मोबाइल स्वीच अफ गरेका छन् । रणसिंहकिटेनी स्वास्थ्यचौकी प्रमुख निसा पुनले सिटामोलसहितको औषधि पठाएको स्वीकार गरिन् । ‘हामीसँग औषधि राख्ने भाडा नभएपछि म्याद सकिएको औषधिको बोटलमा अर्को औषधि हालेर पठाएको हौं,’ उनले भनिन् ।

म्याद सकिएको औषधि फिर्ता लिनुपर्नेमा गाउँपालिकाले उल्टै समाचारको खण्डन गरेर बसेको छ । पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले विज्ञप्ति जारी गर्दै म्याद सकिएको औषधि वितरण नगरिएको दाबी गरेकी छन् । वास्तविकता तोडमोडगरी समाचार प्रकाशन गरिएको उनको दाबी छ ।

मंसिरमै दिइएको थियो ७ महिनाअघि म्याद सकिएको जुकाको औषधि र आइरन चक्की

गाउँपालिकाले गत मंसिरमै म्याद सकिएको औषधि वितरण गरेको पाइएको छ । मंसिरमै सकिएको जुकाको औषधि र आइरन चक्की पठाइएको ती माध्यमिक विद्यालयका प्रअले बताए । ‘हामीलाई जुकाको औषधिसहित आइरनचक्की मंसिरमा पठाइएको थियो,’ उनले भने ।

गत वर्ष औषधि खुवाउन विद्यालयमा संयोजक किटान गरी प्रशिक्षण दिने गरे पनि यसवर्ष प्रशिक्षणनै नदिई औषधि दिइएको ती प्रअले बताए । पालिकाका एक अधिकारीका अनुसार साउन भदौ र असोजमा आइरनचक्की खुवाउने भनिए पनि दशै र तिहार बिदा हुँदा मंसिरमा विद्यालयहरूमा पठाइएको थियो ।

म्याद सकिएको औषधि विद्यालयमा मात्र नभई समूदायमै फेला परेपछि नागरिकको ज्यानमाथि थप संवेदनशील नभएको बुझिएको छ । स्रोतका अनुसार गाउँपालिका प्रमुख गण्डकी थापा अधिकारी सूचना दिने व्यक्तिको खोजी गरिरहेकी छन् ।

यो पनि हेर्नुहोस:

विद्यार्थीको स्वास्थ्यमाथि बडिगाड गाउँपालिकाको गम्भीर लापरबाही, म्याद गुज्रेको सात महिनापछि औषधि वितरण

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित